काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकार पूरै असफल भएको उनकै कार्यालयले निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालयको रिपोर्ट कार्ड सार्वजनिक गर्दै सरकार नै असफल भएको निष्कर्ष निकालेको हो । बिहीबार मन्त्रिपरिषद् बैठक बस्नुअघि त्रैमासिक समीक्षा बैठकमा मन्त्रीहरूलाई प्रचण्डले सचिवकै सामु आलोचना गरेका थिए ।
जसलाई लिएर मन्त्रीहरूले नै मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको असन्तुष्टि जनाएका थिए । त्रैमासिक प्रगति प्रतिवेदनमै ४ प्रतिशत पनि काम अघि नबढेको र कुनै पनि परियोजनाको कार्य प्रगति सन्तोषजनक नभएपछि प्रधानमन्त्री आफ्ना सहकर्मीहरूमाथि खनिएका थिए।
त्यतिबेला प्रधानमन्त्रीलाई मन्त्रीहरूले केही भनेनन् । लगत्तै बसेको मन्त्रिपरिषद् बैठकमा उनीहरूले प्रधानमन्त्रीसामु झोक निकालेका हुन्। बिहीबार प्रधानमन्त्रीको आलोचना गर्ने मन्त्रीहरू एउटै पार्टीका नभएर कांग्रेस, जसपालगायत दलका थिए।
प्रधानमन्त्रीले मुलुकको अर्थतन्त्र लयमा आउन नसकेको र अर्थमन्त्रीले काम गर्न नसकेको भन्दै बिहीबारको त्रैमासिक समीक्षा बैठकमा भनाइ राखेका थिए।
वन तथा वातावरण, भौतिक योजना, सहरी विकास, कृषि तथा पशुपक्षी, संस्कृत तथा पर्यटन मन्त्रालयका कामकारबाहीप्रति प्रधानमन्त्रीले असन्तुष्टि जनाएका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको नतिजा व्यवस्थापन महाशाखाले तयार पारेको प्रतिवेदनमा अर्थ, कृषि तथा पशुपन्छी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र लगानी बोर्डको कार्यालयले ४ प्रतिशत पनि काम नगरेको उल्लेख गरेपछि मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको आलोचना भएको हो।
प्रधानमन्त्री प्रचण्डसँग मन्त्रीहरू चिढिँदै जान थालेपछि मन्त्रिपरिषद्का सदस्यहरू परिवर्तन हुने सम्भावना पनि बढिरहेको छ।
सञ्चारमन्त्री रेखा शर्माले आइतबार एक कार्यक्रममा मन्त्रीहरू फेरबदल हुने जानकारी दिइसकेकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।