काठमाडौं - प्रधानमन्त्री नियुक्त भएको केही दिनपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा थोरै बोल्ने धेरै काम गर्ने उदघोष गरेका थिए ।
दुईपटक प्रधानमन्त्री हुँदा धेरै बोल्ने र काम चाहिँ सम्झनलायक एउटा नगरेपछि उनले त्यस्तो प्रतिबद्धता जनाएका थिए ।
तर यो एक वर्षे कार्यकालमा उपलब्धि हात लाग्यो शून्य भएको उनी आफैंले स्वीकार गरेका छन् ।
प्रचण्डले आफूले सचिवहरूलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको बताएका छन् ।
बुधबार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उनले सोचेजस्तो शासकीय सुधारको काम गर्न नसकिएको भन्दै अब सरकारको ध्यान समग्र शासकीय प्रणाली सुधारमा केन्द्रित हुने बताए ।
आफूले पहिलोपटक सचिवहरूलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले समस्या समाधानका उपाय खोज्नैपर्ने पनि बताए ।
‘मैले पहिलोचोटि सचिवहरूलाई निर्देशन दिँदै गर्दा जुन ठोस रूपमा प्रस्तुत गर्ने कोसिस गरिएको थियो, त्यो नतिजा र परिणाममा हेर्दा त्यो उत्साहजनक होइन, निराशाजनक रह्यो । भनेजसरी अगाडि जान सकेन । त्यसकारण कहीँ न कहीँ यसमा समस्या छ र यसको समाधान गर्ने उपाय पनि हामीले खोज्नै पर्नेछ,’ उनले भने ।
प्रचण्डले २०७९ पुस २९ गते सरकारका सचिवहरूसँग बैठक गरी ३० बुँदे निर्देशन दिएका थिए ।
आफूले दिएको सोही निर्देशन स्मरण गर्दै उनले तत्काल जनतालाई सेवा प्रवाह गर्न र जनतामा उत्साह आउने गरी परिणाममुखी काम गर्न मातहतका सबै निकायलाई निर्देशनसमेत दिए ।
यो एक वर्षमा प्रचण्डले निर्देशन दिएबाहेक कुनै काम गरेका छैनन् । निर्देशन दिनु मात्रै काम, कर्तव्य र अधिकार सम्झेपछि कर्मचारीहरू पनि खासै गम्भीर देखिएनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।