काठमाडौं -बिहीबार काठमाडौंमा हुन लागेको जनप्रदर्शनमा सम्भावित भिडन्त हुनबाट रोक्न भन्दै सरकारले १० हजार सुरक्षाकर्मी सडकमा खटाएको छ ।
२०६२–६३ को आन्दोलनपछि सरकारले १० हजार सुरक्षाकर्मी सडकमा खटाएको सम्भवतः यो नै पहिलोपटक हो ।
एमालेको भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईं समूहले आज प्रदर्शन गर्दैछन् ।
सुरक्षाका लागि नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा जोइन्ट अप्रेसन कमान्ड सेन्टर गठन गरिएको छ ।
सेन्टरको संयोजक काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी लालमणि आचार्यलाई तोकिएको छ ।
जसमा सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सेनाका सात उच्च अधिकारी छन् ।
युवा संघले तीनकुने र प्रसाईंले बल्खु क्षेत्रमा प्रदर्शन गर्ने तय भएको छ । संघको नेतृत्व एमाले नेता महेश बस्नेतले गर्ने छन् ।
दुवै क्षेत्रमा सेन्टरकै कमान्डमा सुरक्षाकर्मी परिचालन हुनेछन् । नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका गरि करिब सात हजार सुरक्षाकर्मी फिल्डमा खटिँदैछन् ।
यसबाहेक हेडक्वाटर र उपत्यकाभित्रका तीनवटै जिल्लामातहतका कार्यालयबाटसमेत खटिने गरि करिब १० हजार सुरक्षाकर्मी परिचालित हुनेछन् ।
प्रदर्शन हुने स्थानको सुरक्षार्थ ड्रोन क्यामेरा परिचालन गरिनेछन् । नारा–जुलुस हुने ठाउँमा पनि ड्रोन क्यामेरा परिचालन हुनेछन् ।
त्यसबाहेक सडक र चोकमा जडान गरिएका सिसिक्यामेरामार्फत पनि नारा–जुलुस निगरानीमा रहनेछन् ।
कार्यक्रमस्थलमा र नारा–जुलुसमा सहभागी हुने समर्थकसँगै सादा पोसाकका सुरक्षाकर्मी पनि खटिनेछन् । उनीहरूले प्रत्येक समर्थकको गतिविधि निगरानी गर्नेछन् ।
अवाञ्छित गतिविधि हुने सुइँको पाउना साथ उनीहरूलाई प्रहरीले पक्राउ गर्नेछ । सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभागका गुप्तचार पनि समर्थकसँगै खटिनेछन् ।
पोसाकसहित खटिएका सुरक्षाकर्मी सुरक्षाका अग्रपंक्तिमा खटिनेछन् ।
हतियारसहित खटिने उनीहरूले कार्यक्रममा सहभागी हुने भिभिआइपीको सुरक्षा गर्नछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।