चितवन - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय जनतामा असन्तुष्टि बढ्दै गएको बताएका छन् ।
बुधबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जनताको असन्तुष्टि कम भए व्यवस्थाविरुद्ध बोल्नेहरुको आवाज कमजोर हुँदै जाने बताउँदै समाधान गर्नेतर्फ सरकार र दलहरु लाग्नुपर्ने उल्लेख गरे ।
‘जनतामा अहिले असन्तुष्टि बढ्दै गएको छ । यसकारण आक्रोशित नागरिकको असन्तुष्टि प्रयोग गरेर केही व्यक्ति र समूहले आफ्नो बदनियत राखेका छन् । नागरिक असन्तुष्टि कम भए पनि बदनियत राख्नेको स्वर र संख्या आफैँ घट्दै जान्छ,’ उनले भने ।
गणतन्त्रमा आमनागरिकले यो व्यवस्था ठीक छैन भनेर आफ्नो विचार राख्न पाउने बताउँदै उनले प्रचलित कानुनको सीमाभित्र रहेर आफ्नो अधिकारको प्रयोग गर्न पाउने बताए ।
‘कसैलाई व्यवस्था मन पर्दैन भने मलाई यो बेवास्ता मन पर्दैन भन्न पाउनुपर्छ । तर प्रचलित कानुनको सीमाभित्र बसेर सबैले आफ्नो अधिकारको प्रयोग गर्ने हो,’ उनले भने, ‘अहिले देशमा देखिएको आर्थिक समस्या हल गर्न सरकार र दल लागेमा व्यवस्थाविरुद्ध उठेका कुराहरु आफैँ निस्तेज भएर जानेछ ।’
ऋण लिएर सदुपयोग गर्दासमेत समस्यामा परेका व्यवसायीहरुका लागि सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।
‘जसले ऋण लिएर सदुपयोग गर्दैन त्यतातिर सरकार जान आवश्यक छैन । जुन कामका लागि लिएको ऋण हो सोही स्थानमा खर्च गर्ने व्यवसायीको हकमा सरकारले अभिभावकीय भूमिका खेल्नुपर्छ,’ थापाले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।