काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत साता स्वास्थ्यसम्बन्धी धेरै कार्यक्रममा सहभागी भए । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनले सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाउनुपर्ने विचार व्यक्त गरे ।
सरकारी ओहोदामा बसेका सबैले सरकारी अस्पतालमा विश्वास गर्नुपर्ने बताए । तर आफैंलाई छातीमा अलिकति समस्या हुँदा उनी दौडेर निजी अस्पताल भर्ना भए ।
प्रधानमन्त्री निवासबाट डेढ–दुई किलोमिटरको दूरीमा दुईवटा सरकारी अस्पताल छन् । त्रिवि शिक्षण अस्पताल र गंगालाल हृदय रोग केन्द्र बालुवाटारमा धेरै टाढा पर्दैन ।
ती दुवै अस्पतालमा मुटुसम्बन्धी उपचार हुने गरेको छ । शिक्षण अस्पताल परिसरमै सरकारी मनमोहन कार्डियाथेरासिक भास्कुलर केन्द्र अस्पताल छ । तर प्रचण्ड थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भए ।
प्रचण्ड स्वास्थ्य परीक्षणपछि राति नै निवास फर्के । दिउँसो करिब ३ बजेतिर छातीमा समस्या देखिएपछि अस्पताल पुर्याइएका प्रचण्डको स्वास्थ्यमा ठूलो समस्या नदेखिएपछि राति निवास लगिएको हो ।
प्रचण्डलाई ‘कोरोनरी एन्जिओग्राम’ सामान्य देखिएपछि छातीमा अन्य कुनै समस्या नभएको स्पष्ट भएको चिकित्सकहरूले बताएका छन् ।
उनको उपचारमा मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टसहितको टोली खटिएको थियो । छाती तथा मुटुसम्बन्धी कुनै पनि समस्या नदेखिएको र मंगलबार राति ९ बजे अस्पतालबाट बालुवाटार लगिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. युवराज शर्माले बताए ।
‘कोरोनरी एन्जिओग्राम’ परीक्षण गर्दा मुटुमा रहेका नसाहरूबाट रक्तसञ्चार कार्य भए–नभएको जानकारी हुन्छ । दिउँसो एक्कासि छातीमा समस्या भएको महसुसपछि प्रचण्ड आफैँले अस्पताल लैजान सचिवलाई भनेका थिए ।
अहिले सरकारले वीर अस्पतालमा भिभिआईपी र भिआईपीका लागि उपचार कक्ष स्थापना गरेको छ । सरकारी उच्च ओहोदामा रहेका व्यक्ति विरामी भए उपचार गर्न छुट्टै उपचार कक्ष स्थापना गरिएको हो ।
तर प्रधानमन्त्री नै निजी अस्पतालमा गएर उपचार गराउँछन् भने सरकारी अस्पताल त उही गरिब र विपन्नका लागि मात्र हो भन्ने जबर्जस्त सन्देश दिइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।