काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १४ दिने विदेश भ्रमण सकेर शनिबार स्वदेश फर्केलगत्ते पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि भएको छ ।
प्रचण्ड शनिबार चीन भ्रमण पूरा गरी स्वदेश फर्केका हुन् । नेपाल आयल निगमले स्वचालित प्रणालीअनुसार भन्दै मूल्यवृद्धि गरेको हो ।
जबकि आयल निगमले स्वचालित प्रणाली लागू गरेयता तीन महिनामै एक अर्ब ८९ करोड नाफा उठाएको छ । चाडबाडका वेला नागरिकलाई सहुलियत दिनुपर्नेमा सरकारले खाना पकाउने ग्यासको मूल्य एक महिनामै ४५० रुपैयाँले बढाएर २११० रुपैयाँ पुर्याएको छ ।
आर्थिक मन्दीसँगै महँगीले रन्थनिएका नागरिकलाई चाडका वेला सहुलियत प्याकेज ल्याउनुपर्ने सरकारले खाना पकाउने ग्यासको मूल्य एक महिनामै चार सय ५० रुपैयाँले बढाएको हो ।
आयल निगमले १४ भदौमा प्रतिसिलिन्डर दुई सय ३५ रुपैयाँले वृद्धि गरेकोमा शनिबार पुनः दुई सय १५ बढाएर ग्यासको मूल्य महिनामै एक हजार ६ सय ६० बाट दुई हजार एक सय १० रुपैयाँ पुर्याएको हो ।
शनिवार बसेको निगम सञ्चालक समिति बैठकले खाना पकाउने एलपीजी ग्याँसको मूल्य २१५ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र पेट्रोल लिटरमा २ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले जनाएको छ।
निगम हरेक पटकको मूल्यवृद्धि हुँदा मुनाफामा छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगमलाई नाफा आर्जन गर्न सजिलो भइदिएको छ मूल्य बढाएर ।
त्यसको मारमा आमजनता परेका छन् । चार्डपर्व नजिकिएका बेला अचानक मूल्य बढेर आएकोमा जनताको आक्रोश चुलिएको छ ।
इन्धनको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा दर बढ्ने आकलन गरिएको छ। यसले बजारमा मूल्यवृद्धिको आगो दन्किने निश्चित छ ।
सरकारले चाडपर्व लक्षित भन्दै सहुलियत दलमा सुपथ पसल सञ्चालन गर्न लागेको छ । यहीबेला इन्धनमा मूल्य बढाएर जनताको ढाड सेकेको छ ।
विगतमा इन्धनमा मूल्यवृद्धि हुँदा प्रधानमन्त्री प्रचण्डले हतार हतारमा थोरै घटाउन लगाएका थिए । तर यसपटक चाइँचुइँ छैन । आधा महिना विदेश घुमघाम गरेर फर्केका प्रचण्ड सरकारविरुद्ध आइतबारदेखि नै सडकमा जनताले आन्दोलन गर्ने तयारी गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।