काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण सोचेजति सफल नभएपछि खिन्न देखिएका छन् ।
चीन उड्नुअघिसम्म उनमा धेरै हुटहुटी थियो । अमेरिकाबाट चीनको हाङझाउ पुग्नेवित्तिकै उनले राष्ट्रपति सी जिन पिङलाई भेटेका थिए । त्यसपछि प्रचण्ड बेइजिङ पुगे ।
तर चिनियाँ राष्ट्रपति सीले प्रचण्डलाई बेइजिङमा भेट्नै चाहेनन् । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच शनिबार हाङझाउमा भएको भेटवार्ताकै निरन्तरताका रूपमा बेइजिङमा दुई देशका प्रधानमन्त्रीबीच औपचारिक वार्ता भएको हो ।
प्रधानमन्त्री प्रचण्डले नेपालले चीनसँग सडक, हवाई कनेक्टिभिटी, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा सहकार्य गर्न चाहेको बताएका थिए ।
नेपालमा कृषिमा आधारित उद्योग र औद्योगिक पार्क स्थापनाका लागि चीनबाट सहयोगको अपेक्षा राखेको उनको भनाइ थियो । चिनियाँ प्रधानमन्त्री ली छ्याङले प्रचण्डको चीन भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताए ।
प्रचण्डसँगको द्विपक्षीय भेटवार्ताका क्रममा उनले द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढीकरण गर्न भ्रमणबाट थप सहयोग पुगेको बताए ।
प्रचण्ड र चिनियाँ समकक्षी छ्याङबीच चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा भेटवार्ता भएको हो । प्रचण्डलाई चीनले गार्ड अफ अनर दियो । प्रचण्डले पाएको सफलता त्यही मात्र हो ।
दुई देशका प्रधानमन्त्रीबीच संयुक्त पत्रकार सम्मेलन र स्टेटमेन्टसमेत जारी हुन सकेन । चीनसँग १२ बुँदे सम्झौतामै प्रचण्डको भ्रमण सकियो ।
यसपटक प्रचण्डले बिआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुने, चीनद्वारा जारी नक्सामा समेटिएको नेपालको अपूरो नक्साबारे छलफल हुने बताएका थिए ।
चीन जानेबेलासम्म उनले चुच्चे नक्साको कुरा उठाउने बताएका थिए । तर चीन पुगेपछि यो विषय त्यत्तिकै सेलायो । चीनको नक्साले उसका सबै छिमेकी देश रुष्ट बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।