काठमाडौं - माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको भविष्यबारे विभिन्न टीकाटिप्पणी सुरु हुन थालेको छ ।
प्रमुख प्रतिपक्षी दल एमाले सरकार ढाल्न लागिपरेको छ । एमाले अध्यक्ष केपी ओलीले जस्तोसुकै हथकण्डा अपनाएर भए पनि वर्तमान सरकारलाई विस्थापित गर्नुपर्ने घोषणा गरिसकेका छन् ।
सत्तारुढ कांग्रेसमै पनि सरकारलाई निरन्तरता दिने कि नदिने भन्ने बहस सुरु भएको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकमा पनि नेताहरूले यस्तो विचार अघि सारेका थिए ।
गत निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेसबाट सरकारमा नौजना मन्त्री छन्। प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा रहेकाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यतिबेला कांग्रेस उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सम्हालिरहेका छन् ।
उपप्रधानमन्त्री खड्काले केन्द्रीय समिति बैठकमै मुलुकको पछिल्लो परिस्थिति राम्रो नरहेको बताएका छन्। ‘मुलुकको परिस्थितिमा जातीय क्षेत्रीय कुराका संकेत राम्रा छैनन्। त्यसका लागि कांग्रेसले सद्भाव कायम गर्नुपर्छ,’ खड्काले भने।
उनले कांग्रेसले मध्यमार्गी धार अपनाएको र उक्त धार तलमाथि भए सरकार गर्ल्यामगुर्लुम ढल्ने स्पष्ट पारे । ‘कांग्रेसको मध्यमार्गी धार अलिकति तलमाथि भयो भने सबै कुरा गर्ल्यामगुर्लुम ढल्ने खतरा छ,’ खड्काले भने।
पार्टी उपसभापति खड्काले सरकारकै आयुबारे धारणा अघि सारेपछि प्रचण्डको प्रधानमन्त्री पद जुनसुकै बेला खुस्किन सक्ने हल्लालाई बल पुगेको छ ।
कांग्रेस नेता डा.शेखर कोइरालाले प्रचण्डबाट सरकार नचल्ने बताउँदै आएका छन् । कांग्रेसकै नेताहरू आफ्नै मन्त्रीको कार्यशैलीबाट आजित भएका छन् । अहिलेसम्म एउटा पनि कांग्रेसका मन्त्रीले राम्रो परफरमेन्स देखाउन सकेका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।