काठमाडौं - प्रधानमन्त्रीको तेस्रो कार्यकाल सम्हाल्नेवित्तिकै पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए– यसपटक म कम बोल्छु, धेरै काम गर्छु ।
तर जबजब दिन बित्दै गए, तबतब प्रचण्ड आफूले बोलेका कुरा बिर्संदै जान थालेका छन् । प्रधानमन्त्री भएको नौ महिनामा उनी अभिव्यक्तिकै कारण चरम विवादमा परेका छन् ।
अभिव्यक्तिकै कारण प्रचण्डलाई प्रधानमन्त्रीबाट राजीनामा दिन माग गर्दै विपक्षी दलले संसद् नै अवरोध गरे । मिडिया र आमसभामा के बोल्दैछु भन्ने भेउसमेत उनले पाउँदैनन् ।
उनकै अन्टसन्ट अभिव्यक्तिका कारण नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रचण्डले सरकार चलाउन नसक्ने भन्दै आपत्ति जनाउँदै आएका छन् ।
प्रचण्डले केही दिनअघि २०८४ को चुनावमा पहिचानवादीलाई बहुमत दिनुस् दुई तिहाइ बहुमतबाटै सबैलाई पहिचानका आधारमा प्रदेश दिने बताएका थिए ।
अहिले फेरि उनी लाखौं जनता सडकमा आरोल्ने अभिव्यक्ति दिएर विवादमा परेका छन् । प्रधानमन्त्रीको कुर्सीमा बसेका प्रचण्डले कसको विरुद्ध लाखौं जनता सडकमा ल्याउन लागेका हुन् भन्ने खुलेको छैन ।
समाजवादी मोर्चाले आइतबार हेटौंडामा आयोजना गरेको सन्देश सभामा उनले संघीयता, गणतन्त्रमाथि प्रतिक्रियावादीहरूले प्रहार गरिरहेको भन्दै त्यसविरूद्ध जनता सडकमा उतार्ने जिकिर बताए ।
‘प्रतिक्रियावादी शक्तिहरूले संघीयता, गणतन्त्रलाई होच्याउने गरिरहेका छन् । अपमानित गरिरहेका छन् । प्रहार गरिरहेका छन् । जनयुद्ध, जन आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न समाजवादी मोर्चा बनाएको हो’, उनले भने, ‘अहिले त हामीले कार्यक्रम कोठामा गरिरहेका छौं । केही समयमा प्रतिक्रियावादीहरूको सातो जानेगरी सडकमा लाखौं जनता उतार्छौं,’ उनले भने ।
प्रचण्ड माओवादीका मात्र प्रधानमन्त्री होइनन् । उनी देशकै प्रधानमन्त्री हुन् । उनका लागि सबै जनता बराबरी हुन् । तर अहिले उनी एउटा कित्ताको प्रधानमन्त्री भएको जस्तो गरी भाषण दिँदै हिँडेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।