काठमाडौं - प्रतिनिधिसभा बैठक आइतबारका लागि बोलाइएको छ । आजको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको सूचना सभामुखले पढेर सुनाउने कार्यसूची छ ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै झन्डै एक महिनादेखि सदन अवरुद्ध गर्दै आएको छ ।
तर सरकार र सत्तापक्षले सुन तस्करीबारे अनुसन्धान गर्न छानबिन समिति आवश्यक नरहेको बताएका छन् । एमाले भने आफ्नो मागबाट टसमस भएको छैन ।
शुक्रबार सभामुखले प्रधानमन्त्री पुष्कपमल दाहाल प्रचण्डलाई भेटेर सदन खुलाउन निर्णायक पहल गर्न आग्रह गरेका थिए । प्रचण्डले शनिबार एमालेसँग महत्वपूर्ण छलफल हुने र आइतबारदेखि सदन खुल्ने आशा व्यक्त गरेका थिए ।
तर शनिबार एमालेसँग महत्वपूर्ण छलफल गर्ने बताएका प्रचण्ड र सभामुख घिमिरे आफैं पाँच घन्टाभन्दा बढी नाचगान हेर्नमै मस्त रहे ।
इन्ट्रा फाउन्डेसनले गोदावरीको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरेको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को ग्रान्ड फिनाले कार्यक्रममा शनिबार प्रधानमन्त्री र सभामुखको महत्वपूर्ण समय बित्यो । सदन खुलाउन प्रधानमन्त्री र सभामुखको महत्वपूर्ण भूमिका रहन्छ । तर दुवैजनाले शनिबार प्रमुख प्रतिपक्षी दलसँग कुनै संवाद गरेनन् ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेले पाँच घन्टासम्म समय दिएका थिए । शनिबार झन्डै मध्यरातसम्म गोदावरीमा नाचगान चलिरहेको थियो । कार्यक्रममा प्रचण्डले कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलोचोटि प्रधानमन्त्रीको हैसियतले अगाडि बढाउन सक्दो सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
‘जसरी कला, साहित्य र संस्कृति, बढी भावना र संवेदनशील हुन्छ र धेरै शक्तिशाली हुन्छ, त्यसले मानिसलाई जोड्छ, एकतालाई सुदृढ गर्छ, आफ्नो पहिचानलाई विश्वव्यापी रूपमा स्थापित गर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो ग्रान्ड फिनाले कार्यक्रम हेर्दै गर्दा प्रस्तुति सुन्दै गर्दा गर्व लागेको छ ।’
सभामुख देवराज घिमिरेले संसारको जुन कुनामा भए पनि नेपाली कला, भाषा, साहित्य र संस्कृतिलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
परराष्ट्रमन्त्री एनपी साउदले नेपाली कला, संस्कृतिको संरक्षणमा जोड दिए । सिक्किम सरकार भारतका कृषि तथा बागवनीमन्त्री लोकनाथ शर्माले संसारका मानिसलाई कला र संस्कृतिको माध्यमबाट एकै ठाउँमा जोड्ने काम गरेको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।