काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् ।
सिके राउतको जनमत पार्टीलाई सरकारमा ल्याउन उनले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन् । प्रचण्डले आजै जनमतलाई सरकारमा सामेल गराउन लागेका हुन् । जनमतसँग ६ सांसद छन् ।प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीकी सांसद अनितादेवी साहलाई मन्त्री नियुक्त गर्ने भएका छन् ।
माओवादीबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने तयारी प्रचण्डको छ। जसमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीमध्ये एकजना हटाउने प्रचण्डको तयारी छ । सञ्चारमन्त्री रेखा शर्माको कामसँग पनि प्रचण्ड खुसी छैनन् ।
स्रोतका अनुसार शर्मालाई तानिएमा नुवाकोटका हितबहादुर तामाङ मन्त्री बन्ने छन् । सञ्चारमन्त्री शर्माले मन्त्रालयमा विभिन्न शीर्षकमा ब्रह्मलूट गरेको आरोप माओवादीकै नेता कार्यकर्ताले लगाउन थालेका छन् ।
यो विषय प्रचण्डकोमा पुगिसकेको छ । विभिन्न घटनाले सरकारमा रहेका अन्य दल असन्तुष्ट बन्न थालेपछि प्रचण्डले बहुमत गुमाउने अवस्था सिर्जना हुँदै गएको थियो ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव मात्र होइन, नेसपा अध्यक्ष बाबुराम भट्टराई पनि प्रचण्डसँग असन्तुष्ट बन्दै गएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसले गृहमन्त्री नारायणकाजी श्रेष्ठको विकल्प खोज्न प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेको छ । आफूलाई हटाउन कांग्रेसको दबाब परेपछि गृहमन्त्री श्रेष्ठले शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवालाई धुम्बाराहीस्थित निवासमै गएर भेट गरेका थिए ।
कांग्रेस संसदीय दलको बैठकमा अधिकांश सांसदले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्रीको आलोचना गरेपछि श्रेष्ठले सभापति देउवालाई भेटेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।