काठमाडौं - १३ महिनापछि माओवादी केन्द्रीक कमिटीको बैठक आजबाट बस्न लागेको छ ।
गत वर्ष असारमा केन्द्रीय कमिटी बैठक बसेयता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक नै राखेका छैनन् । पदाधिकारी र सचिवालय बैठकबाटै सबै निर्णय गर्दै आएका छन् ।
बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट एक सयजना गरी ७५८ सहभागी हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।
केन्द्रीय समिति बैठकका लागि गत सोमबार बसेको माओवादी पदाधिकारी बैठकले केही एजेन्डा तय गरिसकेको छ। जसअनुसार नेताहरूको जिम्मेवारी बाँडफाँट, संगठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विशेष महाधिवेशन र विधान महाधिवेशन तथा समसामयिक विषयअन्तर्गत सरकार, सदनलगायत एजेन्डा छन्।
मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन्।
माओवादीले यसपटक नेपाली कांग्रेसको सिको गर्दै केन्द्रीय कमिटी बैठक फेसबुकमा लाइभ गर्दै छ । प्रचण्डको फेसबुक पेजबाट लाइभ हुनेछ । केन्द्रीय समिति बैठक बस्नुअघि माओवादीको पदाधिकारी बैठक बसेको छ ।
केन्द्रीय समिति बैठकको सुरुमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गर्नेछन्। त्यसपछि अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।
सांगठनिक, पछिल्लो राजनीतिक, सरकार, समाजवादी मोर्चालगायतका विषयमा प्रचण्डले प्रतिवेदनलाई अन्तिम रूप दिएका छन्।
यसपटक माओवादी बैठक खास हुने भएको छ । बैठक बस्नुअघि नै माओवादी नेताहरूको असलियत बाहिर सार्वजनिक भइसकेको छ ।
माओवादीका ठूलाठूला नेता विभिन्न काण्डमा मुछिएका छन् । जनार्दन शर्मा एक वर्षअघि नै बजेटमा करको दर हेरफेर गरेर विवादित भइसकेका छन् ।
उपाध्यक्ष कृष्णबहादुर महरा नौ किलो सुन गायब भएको काण्डमा मुछिएका छन् । उपमहासचिव वर्षमान पुन पनि सुन तस्करसँग बसउठ रहेको भनेर समाचार आइसकेको छ ।
उपाध्यक्षसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ एक क्विन्टल सुनकाण्डमा मुछिएका छन् । सत्तापक्ष र प्रतिपक्षका नेताहरूले नै श्रेष्ठ सुन तस्करीमा संलग्न रहेको आरोप लगाइसकेका छन् ।
माओवादी नेतासमेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सुन तस्करसँग हार्दिक सम्बन्ध बनाउने मात्र होइन, उनका छोरा दिपेश पुन माफियाका रूपमा उदाइसकेका छन् ।
त्यसैले काण्डैकाण्डमा मुछिएका माओवादी नेताहरूले केन्द्रीय कमिटी बैठकमा कसरी फेस गर्लान् भन्ने चासो उत्पन्न भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।