काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणबाट फर्केलगत्तै मन्त्रिपरिषद् पुनर्गठनमा लाग्ने भएका छन् ।
असारमै सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउने प्रचण्डको तयारी थियो । तर अकस्मात श्रीमती सीता दाहालको निधनपछि प्रधानमन्त्री प्रचण्ड रोकिएका थिए ।
जनमतले अनिता देवीलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले केही मन्त्रालयको नेतृत्व फेरबदल गर्न लागेका हुन् ।
अहिले कांग्रेसले पाएको सहरी विकास मन्त्रालय जनमत पार्टीलाई दिने प्रचण्डको तयारी छ । त्यसका लागि उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गरिसकेको बताइन्छ ।
सहरी विकासको सट्टा कांग्रेसले संघीय मामिला तथा सामान्य प्रशासन वा पर्यटन मन्त्रालयमध्ये एउटा लिन प्रचण्डले प्रस्ताव गरेका छन् । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच परराष्ट्र र गृह मन्त्रालय साटफेर गर्ने भित्री सहमति भएको चर्चा चलेको छ ।
कांग्रेसले गृह र परराष्ट्र माओवादीले लिने गरी सहमति भएको चर्चा बाहिरिएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैली चित्त नबुझेको भन्दै देउवाले प्रचण्डसँग असन्तुष्टि व्यक्त गरेका छन् ।
देउवाले प्रधानमन्त्री प्रचण्डलाई सत्ता सहयात्री भएर पनि एकलौटी ढंगमा अगाडि बढेको, आफूहरूसँग सुझाव नलिएको र दिएको सुझाव पनि कार्यान्वयन नगरेको, गृहमन्त्री श्रेष्ठले छानीछानी कांग्रेस नेताहरूलाई अप्ठेरो पार्ने काम गरेको भन्दै आपत्ति जनाएको बताइन्छ ।
खासगरी कांग्रेस नेता बालकृष्ण खाँणलाई अदालतले पक्राउ गर्न आदेश नदिई गृहमन्त्री श्रेष्ठले आरोप लागेकै भरमा समातेर थुनेकोमा देउवा असन्तुष्ट बनेका छन् ।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा खाँणमाथि अन्याय भएको भन्दै देउवा निकट नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
यसको प्रभाव मन्त्रिपरिषद् पुनर्गठनमा देखिने विश्लेषण गर्न थालिएको छ । माओवादीमा पनि सुदन किराँतीको विकल्प खोज्न दबाब बढ्दै गएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।