काठमाडौं - नेपाली कांंग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा आफ्ना आलोचकहरूलाई मुखभरिको जवाफ दिएका छन् ।
त्यो पनि लिखित र तार्किक ढंगले । केन्द्रीय समिति बैठकको छैटौं दिन महामन्त्री थापाले १३ बुँदे लिखित भनाइ नै पेस गरेका छन् । उनले बैठकमा लिखित धारणा सबै भनेनन् । तरउनले आफूमाथि लगाइएका निराधार आलोचनाको एकएक जवाफ दिए ।
पार्टी सभापति शेरबहादुर देउवाको प्रशंसा गर्दै महामन्त्रीद्वयलाई आलोचना गर्ने सबै केन्द्रीय सदस्य बैठकमा सहभागी थिए । थापा र शर्माले आफ्नो धारणा राख्दा सबैको अनुहार हेर्नलायक थियो ।
महामन्त्री थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने पनि बताए । उनले ३०–३५ वर्षदेखि केही व्यक्ति नै सत्ता र नेतृत्वमा घुमिरहँदा सबै पुराना राजनीतिक दल संकटमा परेको जिकिर गरे।
थापाले संसदीय दलको नेता बदल्ने कुरा अहिलेको आवश्यकता भएको दाबी गर्दै आफू अझै संसदीय दलको नेता फर्न लागिपर्ने प्रस्ट्याए। ‘हामीले घुमिफिरी एकजना मात्रै नेतृत्वमा आउने प्रयास बदल्नुपर्छ।
मेरो प्रयास जारी हुन्छ। त्यही भएर मैले नेपाली कांग्रेसको संसदीय दलको नेता बदल्ने प्रयास गरेँ। सकिनँ, परिणामलाई मानेँ, मान्नैपर्छ। तर, अब गर्नै मिल्दैन त, पार्टीको विधानले गर्न दिन्छ। आवश्यकता छ, सम्भव हुन्छ, कर्म गर्ने हो, फलको आशा नगर्ने हो,’ उनले भने। उनले आफूले पार्टी फुटाउने कुरा नगरेको भन्दै संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिन नपर्ने बताए। वर्तमान सत्तागठबन्धनको नेता कांग्रेस भएकाले आफ्ना सर्तहरूमाथि सम्झौता गर्न नहुनेसमेत उनले प्रस्ट पारे। थापाले आफूले बोल्न बन्द गरेर पार्टीको समस्या हल नहुने बताए ।
‘बाहिर जेजे कुरा आएका छन् त्यो सबै प्रायोजित छन् । पार्टीगत रूपमा एउटा समस्या छ । महामन्त्री अलि बढी बोल्छ । त्यसले बोल्न बन्द गरेर मौन ब्रत राख्यो भने पार्टीको सबै समस्या हल हुन्छ । मलाई के लाग्छ सभापतिज्यू, मलाई के लाग्छ भने यसले हामीलाई दुर्घटनातिर लान्छ । यो अहिलेको समय न आत्मनिन्दा गर्ने बेला हो न सक्यो सक्यो भनेर सबै ठीक छ भन्ने बेलामा हो । यो बेलामा हामी सम्हालिनुपर्छ,’ उनले भने ।
आफूले प्रस्तुत गरेको कार्ययोजनालाई एनजिओको विसलिस्ट भनेर आलोचना गर्ने केन्द्रीय सदस्य आरजु राणा देउवाप्रति लक्षित गर्दै आफूलाई एनजिओको अनुभव नभएको भन्दै कडा व्यंग्य गरे ।
थापाले पार्टी विधानमा फौजदारी अभियोग लागेकालाई निलम्बन गर्ने कुरा उल्लेख भएको भन्दै अहिले कोही मुछिएको भए पार्टीकै विधानअनुसार चल्ने स्पष्ट पारे । अर्का महामन्त्री विश्वप्रकाश शर्माले त हाँसीहाँसी आलोचना गर्ने सबैको बोल्ती बन्द गरिदिएका छन् ।
उनले आलोचना र गालीलाई एउटै बुझ्ने केन्द्रीय सदस्य भएको थाहा पाउँदा आश्चर्य लागेको बताए । आफूहरूले आलोचना गर्दा सभापति देउवा नरिसाउने तर उनका वरिपरिका नेताहरु भने बुरुक्क उफ्रिने गरेको भन्दै छायाँ होइन, ऐना रोज्न सल्लाह दिए । शर्माmे तत्काललाई हाल सत्तामा रहेको वाम लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाएर जानुको विकल्प नरहेको बताए ।
‘मंसिर ४ अघिको गठबन्धनको पुनर्प्राप्ति भएको छ। गठबन्धनलाई बलियो बनाएर जाने र निरन्तरताको खोजीको प्रतिबद्धता हामीबीच हुनुपर्छ’, उनले भने, ‘साथीहरु २०८४ सालको चुनावको पनि कुरा पनि गर्नु हुन्छ। तर ०८४ को चिन्ता ०८३ लागेपछि गरौँला। अहिलेलाई गठबन्धनमै अघि बढ्ने हो।
’ शर्माले आफूहरुले बैठकको सुरुमा पेस गरेको कार्ययोजना कार्यान्वयन हुने गरी पेस गरिएको बताए। ‘यो कार्ययोजना कार्यान्वयन हुन सक्छ। धेरै साथीहरुले प्रश्न उठाउनु भएको छ’, उनले भने। उनले सरकारले ल्याएको नागरिकता विधेयकको अपनत्व कांग्रेसले लिने बताए। ‘यो सरकारको कमजोरीको आलोचना गर्ने र राम्रा कुराको स्वामित्व लिने काम हाम्रो हो।
भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने कुार भएको छ। युवालाई बेचिराखेर अर्थतन्त्र धानिरहेको देशमा अब बिजुली बेचेर बलियो बनाउनुपर्छ’, उनले भने, ‘भ्रष्टचारविरुद्ध फाइल खुलेको छ। व्यक्ति को पर्दैछन् भन्ने मुख्य कुरा होइन। नक्कली शरणार्थी या ललिता निवास सबैको फाइल खुलेको छ। सरकारले फाइल खोल्दै गर्दा त्यसलाई तागत दिने काम कांग्रेसले गरेको छ।’
उनले विभिन्न काण्डमा विभिन्न नेता मुछिएका बताउँदै भ्रष्टाचारविरुद्धको कानुन कांग्रेसकै नेतृत्वमा बनेको पनि बताए। शर्माले यसरी जवाफ दिँदा संस्थापन पक्षका धेरै नेतामा छटपटी देखिन्थ्यो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।