काठमाडौं - सत्तारुढ माओवादीमा अहिले तीव्र ढंगले समीकरण परिवर्तन भइरहेको छ ।
सांगठनिक रूपमा खस्किँदै गएको माओवादीलाई माथि उकास्न प्रचण्डले नेत्रविक्रम चन्द विप्लवको सहारा खोजेपछि यसले तरंग ल्याएको छ । पार्टी प्रवक्ता कृष्णबहादुर महराकै डिजाइनमा प्रचण्डले विप्लवलाई भित्र्याउन लागेको चर्चा चलेको छ ।
माओवादीमा महासचिव बन्ने गरी जान लागेको समाचार आउन थालेपछि विप्लवले पनि यसलाई अस्वीकार गरेका छैनन् ।
गत वर्ष वैशाखमा भएको स्थानीय निर्वाचनमा आफ्नो राजनीतिक शक्ति परीक्षण गर्न नेताहरूलाई उम्मेदवार उठाएको नेकपाले चुनावमा अपेक्षित परिणाम हासिल गर्न नसकेपछि विद्रोहको राजनीतिलाई सेफ ल्यान्डिङ गर्न खोजिरहेको थियो।
त्यही पृष्ठभूमिको परिणामस्वरूप समाजवादी मोर्चामा आवद्ध भएका हुन्, विप्लव। समाजवादी मोर्चामा आवद्ध हुन विप्लवले पुष्पकमल दाहाल प्रचण्डको सहारा लिएका छन् भने प्रचण्ड स्वयंले विप्लवको गुणगान गाउन थालेका छन्।
पार्टी राजनीतिको एउटा भंगालोमा पुगेपछि छुट्टाछुट्टै धार समाएका विप्लव र प्रचण्डलाई जोड्ने कसीका रूपमा उत्तिकै सक्रिय छन्, कृष्णबहादुर महरा। विप्लवलाई भित्र्याएर पार्टी महासचिव बनाउने सम्भावना बढेपछि माओवादीको आन्तरिक समीकरण बदलिन थालेको छ ।
प्रचण्डसँग गम्भीर असहमतिसहित छुट्टिएका विप्लव विद्रोही राजनीतिको एउटा घुम्ती सकेर फेरि उनै प्रचण्ड सही हुन् भन्ने विन्दुमा आइपुग्दा विप्लवको राजनीतिक हैसियत झन् खुम्चिएको छ।प्रचण्ड र विप्लवको चिनजान र मित्रताको याम झन्डै ३५ वर्ष पुगेको छ।
विप्लवलाई माओवादीमा महासचिव बनाउन चाँडै प्रवेश गराइँदैछ भन्ने संकेत बुझेपछि यसअघि एक अर्काका प्रतिस्पर्धी मानिएका जनार्दन शर्मा र वर्षमान पुनबीच सम्बन्ध सुधार भएको छ ।
आफूहरूलाई सरकारमा लैजाने हल्ला चलाएर अहिलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई साइजमा राख्ने प्रचण्डको रणनीति थाहा पाएपछि शर्मा र पुनबीच सम्बन्धमा सुधार आएको भनिए पनि विप्लवकै कारण दुवैबीच दह्रो दोस्ती जमेको माओवादीमा चर्चा छ ।
पार्टीमा विप्लवलाई भित्र्याएर महासचिव बनाउने र सरकार हेरफेर गरेर असन्तुष्टलाई सहभागी गराउने प्रचण्डको रणनीति रहेको शर्मा र पुनको बुझाई छ ।
त्यही भएर अहिले माओवादीमा दुई ध्रुव मानिएका शर्मा र पुनबीच हार्दिकता बढ्दै गएको छ । यदि जनार्दन र वर्षमान एक ठाउँमा उभिएमा प्रचण्डलाई विप्लव कार्ड महँगो पर्ने विश्लेषण हुन थालेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।