काठमाडौं - पत्नी शोकमा परेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम हाललाई स्थगित गरिएको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयले श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनै पनि औपचारिक गतिविधिमा सहभागी नहुने जानकारी गराएको छ ।
समवेदना प्रकट गर्न आउने शुभेच्छुकहरूले असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्म बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न सक्ने सचिवालयले जनाएको छ ।
श्रद्धाञ्जली र समवेदना दिन बालुवाटार आउनेहरुसँग भेटघाट र कुराकानी गर्नेबाहेक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत प्रचण्ड जाने छैनन् ।
मंगलबार मात्र सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको थियो । जनमत पार्टीले दलकी प्रमुख सचेतक अनिता साहलाई सरकारमा पठाउने निर्णय गरेको थियो।
मंगलबार बसेको संसदीय दलको बैठकले साहलाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको अध्यक्ष राउतले जानकारी दिएका थिए । तर, प्रधानमन्त्री शोकमा रहेकाले मन्त्रिपरिषद्ु पुनर्गठन पनि रोकिएको छ ।
जनमतले यसअघि अब्दुल खानलाई खानेपानी मन्त्री बनाएको थियो । तर बीचमा उसले आफ्नो मन्त्रीलाई फिर्ता बोलाएको थियो ।
जनमतले अहिले उद्योग वा कृषि, पर्यटन वा सामान्य प्रशासनमध्ये एउटा मन्त्रालयमा दाबी गर्दै आएको छ । उद्योग मन्त्रालय नेपाली कांग्रेस र कृषि मन्त्रालय एकीकृत समाजवादीको भागमा परेको छ ।
सामान्य र पर्यटन मन्त्रालय माओवादीको भागमा परेको छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले असार ३० गतेलगत्तै आफ्नो दलका एक मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेका छन् ।
अहिले पर्यटनमा सुदन किराँती र सामान्य प्रशासनमन्त्री अमनलाल मोदी छन् । कांग्रेस र एकीकृत समाजवादीका मन्त्री हटाउन अप्ठेरो भएकाले प्रचण्डले आफ्नै पार्टीका मन्त्रीलाई फिर्ता बोलाउन सक्ने सम्भावना प्रबल रहेको बताइन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।