काठमाडौं - प्रधानमन्त्री र मन्त्रीपछि मन्त्रालयमा शक्तिशाली मानिने सचिव नै भ्रष्टाचार र ठगीकाण्डमा पक्राउ परेपछि अहिले सिंहदरबारमा कार्यरत सयौं कर्मचारीको सात्तो गएको छ ।
पछिल्लो समयका दुई चर्चित नक्कली भुटानी शरणार्थी र बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा बहालवाला सचिव नै पक्राउ परे ।
शरणार्थी प्रकरणमा सचिव टेकनारायण पाण्डे र ललिता निवास जग्गा प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउ परे ।
नेपालमा बहालवाला सचिव नै लगातार पक्राउ परेको यो नै पहिलो घटना हो । सचिवलाई निजामती कर्मचारीको विशिष्ट पद मानिन्छ ।
प्रधानमन्त्री र मन्त्री राजनीतिक पद हो । धेरै समयसम्म मन्त्री र प्रधानमन्त्री मन्त्रालयमा टिक्दैनन् । तर निजामती प्रशासन भने स्थायी कर्मचारी हो । सचिव नै धमाधम पक्राउ पर्न थालेपछि अरु कर्मचारीको निदहराम भएको हो ।
यी घटनाले अहिले विभिन्न मन्त्रालय, विभागका अधिकृत, उपसचिव, सहसचिव, सचिव नै नीतिगत निर्णय गर्न हच्किएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार सचिव राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
राउतलाई सरकारी जग्गा व्यक्तिको नाममा मोही बनाउँदा फाइल उठाएको आरोपमा पक्राउ परेको हो । जबकि उनी नीतिगत निर्णयको सिकार बनेका छन् ।
यसअघि शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव पाण्डे पनि नियतवश नै ठगीमा लागेको पुष्टि भएको छ । तर सचिव राउत भने फाइलमा साइन गरेका आधारमा पक्राउ परेका छन् ।
सीआईबीले समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याललाई पनि पक्राउ गरेको छ । समरजंग कम्पनीका प्रमुखको रुपमा घिमिरेले सरकारी जग्गा दाबी गर्नुपर्ने समयमा दाबी गरेका थिएनन् ।
नापी अधिकृत अर्याललाई जग्गा नापजाँचमा किर्ते गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । यो प्रकरणमा जोडिएका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मिनबहादुर गुरुङलगायत नौजनालाई प्रहरीले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिररहेको छ ।
सार्वजनिक पदधारण गरेका झण्डै डेढ सयभन्दा बढी पदाधिकारी र कर्मचारीहरु पनि यस मामिलामा जोडिएका छन् । सीआईबीले ४०६ जनाविरुद्ध पक्राउ अनुमति लिएर ललिता निवास जग्गा प्रकरणमा किर्ते तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।
यसअघि २०७८ पुसमा लामो अनुसन्धानपछि सीआईबीले सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नू भनेर फिर्ता पठाएपछि ललिता निवासको फाइल बन्द भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।