काठमाडौं - एमालेका पूर्वउपाध्यक्ष भीम रावल विगत दुई वर्षदेखि पेण्डुलम बन्दै आएका छन् ।
एमालेको दशौं महाधिवेशन सकिएको झन्डै दुई वर्ष हुन लागिसक्यो । तर एमालेले भीम रावललाई अहिलेसम्म कुनै भूमिका र जिम्मेवारी दिएको छैन ।
केपी ओलीसँग अध्यक्षमा उम्मेदवारी दिएको रिसमा रावलको राजनीतिक करियर नै सिध्याउन लागिएको हो । आफूले चालीस वर्षदेखि राजनीति गरेको पार्टी भनेरै रावलले अहिलेसम्म अन्य पार्टीमा जाने, नयाँ पार्टी खोल्न चाहेका छैनन् ।
त्यसको फाइदा उठाउँदै एमाले नेतृत्वले रावललाई भूमिकाविहीन बनाउँदै आएको छ । रावललाई आफ्नो दलमा आउन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निकै आग्रह गरिरहेका छन् ।
रावलसँगै भूमिकाविहीन बनाइएपछि घनश्याम भुसाललाई माधवले पार्टीमा प्रवेश गराएर महासचिवको जिम्मेवारी दिइसकेका छन् ।
तर रावल भने यताउता भड्केर हिँडेका छन् । केही दिनअघि माओवादी, एकीकृत समाजवादी, जसपा, विप्लव नेकपा मिलेर समाजवादी मोर्चा गठन गरे ।
रावललाई मोर्चामा आउन निकै आग्रह गरिएको थियो । तर एमाले अध्यक्ष ओलीले रावललाई इन्गेज गराउन संवाद चलाएका थिए ।
जसरी वामदेव गौतमलाई इन्गेज गराएर मोर्चामा जान रोकिएको थियो, रावललाई पनि त्यसरी नै रोकिएको पाइएको छ । रावलले पटक–पटक अन्य पार्टीमा नजाने बताइरहे पनि एमाले नेतृत्व रावल एकीकृत समाजवादीमा जान्छन् भन्ने त्रासमा छ ।
त्यसैले उनलाई अनेक तरिकाले अल्झाउने रणनीति लिइएको एमाले स्रोत बताउँछ । नेकपाकाल र १० बुँदे सहमतिपछि पनि एमाले अध्यक्ष ओलीका क्रियाकलापको खरो आलोचना गर्दै आएका उनलाई लामो समयदेखि पार्टीको जिम्मेवारीभन्दा बाहिर राखिएको छ ।
ओली र रावलको भेट गराउने कुरा पनि थियो । तर ओलीले रावलसित भेट्न चासो नदेखाएपछि जिम्मेवारीमा फर्काउने प्रयास असफल छ ।
रावललाई समेट्नका लागि केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दयालबहादुर शाही र केन्द्रीय पर्यटन विभागका सदस्य रमेश कुँवरले ओलीलाई पटकपटक भेटेको चर्चा पनि छ ।
रावललाई जिल्लाबाट एकल नाम सिफारिस हुँदा पनि अछाम १ को उम्मेदवार बन्नबाट ओलीले रोकेका थिए । यो बीचमा एमालेको सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा उनीसँग कुरा गर्न वार्ता टोली बनाएको थियो ।
सुदूरपश्चिमेली नेताहरू लेखराज भट्ट र कर्ण थापासमेत सदस्य रहेको सो टोलीले रावलसित छलफल गरेको र जिम्मेवारी दिने प्रक्रिया थालिएकोसमेत भनिएको थियो ।
तर तीन महिना भइसक्दा पनि रावलसँग संवाद थालिएको छैन । जसकारण उनमा रहेको जोश जाँगर शिथिल हुँदै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।