काठमाडौं - एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबारदेखि बजेट संशोधन नभए यो सरकार ढल्ने चेतावनी दिन थालेका छन् ।
बजेटमा गोरखा, डडेल्धुरा र नुवाकोटमा मात्र बढी बजेट छुट्याएको, क्षेत्रगत हिसाब नमिलाएको, सबै सांसद असन्तुष्ट रहेकाले बजेट पारित नहुने र प्रचण्ड सरकार ढल्ने उनको भनाइ छ ।
सरकार बनेको ६ महिना पनि नबित्दै माधव नेपालले किन प्रचण्ड नेतृत्वको सरका ढल्छ भन्ने हल्ला गर्न थालेका हुन् भन्ने विषयबारे नयाँ रहस्य खुलेको छ । प्रचण्ड एमाले, रास्वपा र राप्रपाको गठबन्धनबाट बाहिरिएर कांग्रेस, एकीकृत समाजवादी र जसपाको गठबन्धन गर्न आइपुगेका थिए ।
प्रचण्ड एमालेसहितको सहमतिमा पुस १० गते प्रधानमन्त्री नियुक्त भए । उनले पुस ११ गते मन्त्रिपरिषद् विस्तार गरे । तर, एमालेसहितको सरकार बनेको एक महिनाभित्रै प्रचण्डले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने लिखित सहमति गरेको पाइएको छ ।
अहिलेसम्म यसबारे औपचारिक जानकारी कतै दिइएको छैन । राष्ट्रपति निर्वाचन हुनुभन्दा एक महिनाअघि नै सत्तासाझेदार कांग्रेस र माओवादीबीच राष्ट्रपति कांग्रेसले पाउने सहमति भइसकेको खुलासा भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको यो लिखित सहमति अन्तिम समयसम्म गोप्य राखिएको थियो । पत्रकार नेत्र पन्थीको नयाँ पुस्तक ‘लेफ्ट–राइट : सत्ता र शक्तिको ‘अ’राजनीति’ मा यसबारे विस्तृतमा उल्लेख गरिएको छ ।
यो सहमतिका लागि राजनीतिक वातावरण बनाउने काममा कांग्रेस वरिष्ठ उपसभापति पूर्णबहादुर खड्का र माओवादी उपमहासचिव जनार्दन शर्मा खटिएका थिए ।
‘१७ माघ ०७९ को राति बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच गोप्य सहमति भयो– राष्ट्रपति कांग्रेसले पाउने, सरकारको नेतृत्व प्रचण्डले तीन वर्ष र कांग्रेसले दुई वर्ष गर्ने । राष्ट्रपति कसलाई बनाउने भन्ने पात्र भने तोकिएको थिएन,’ पुस्तकमा उल्लेख छ, ‘मध्यरातमा भएको सहमतिको साक्षी प्रचण्डकी छोरी गंगा र देउवापत्नी आरजु थिए ।
र, सहमतिको राजनीतिक वातावरण बनाउने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता जनार्दन शर्मा थिए । गोप्य राख्न सम्झौतालाई हस्तलिखित बनाइयो र त्यसमै प्रचण्ड र देउवाले हस्ताक्षर गरे । सम्झौतापत्र एक पेजको मात्रै छ । सम्झौतामा प्रदेश सरकारहरूमा आलोपालो गर्नेदेखि संसद्को कार्यकाल पाँच वर्ष नै राख्ने विषय पनि छन् ।’
कम्प्युटर टाइप गर्दा गोपनीयता भंग हुने डरले सहमति हस्तलिखित गरिएको पुस्तकमा उल्लेख छ । माधव नेपाललाई प्रधानमन्त्री दिने सहमति हल्ला मात्र भएको यो लिखित सहमतिले रहस्य खोलेको छ ।
त्यही भएर अहिले उनी प्रचण्ड सरकार ढल्ने भन्न थालेको बुझिएको छ । २५ फागुनमा तय भएको राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो ।
त्यसको एक दिन अगाडि मात्रै प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको आठ दलको बैठकमा कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने सहमति बनेको थियो ।
त्यसबेला पनि प्रधानमन्त्री र कांग्रेस सभापतिले आफूहरूबीच भएको सहमतिको कुनै छनक दिएका थिएनन् । माघ १७ देखि फागुन १२ गतेसम्म राष्ट्रपतिलाई लिएर भएका बहुपक्षीय संवाद देखावटीमात्रै थिए ।
यसबीचमा राष्ट्रपतिबारे व्यापक फन्डा सार्वजनिक भएका थिए । कतिसम्म भने एमालेले माधव नेपाललाई राष्ट्रपति बन्न औपचारिक प्रस्ताव नै गरेको थियो । तर गठबन्धनका शीर्ष नेताबीच नेपाललाई एक वर्ष प्रधानमन्त्री बन्न दिने सहमति भएको प्रचार गरिए पनि त्यस्तो नभएको पाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।