काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले धार्मिक चरित्रका कारण चर्चामा छन् ।
भारतको उज्जैनमा रहेको महाकालेश्वर ज्योतिर्लिंगको पूजाआजापछि पशुपतिनाथ मन्दिरको दर्शन गरेसँगै प्रचण्डलाई अध्यात्मिक चरणमा प्रवेश भएको भन्नेको कमी छैन ।
तर द्वन्द्वकालीन मुद्दा अदालतमा धमाधम ब्यूँतिन थालेपछि प्रचण्ड ठूलो तनावमा पर्न थालेका छन् । काभ्रेका अर्जुन लामा हत्याको आरोपमा माओवादीका नेता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटामाथि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।
आफ्नो श्रीमान्को हत्यामा सापकोटाको पनि संलग्नता रहेको भन्दै अर्जुनकी श्रीमतीले अदालतमा मुद्दा हालेकी हुन् । जसमा सापकोटा तानिने सम्भावना धेरै रहेको बताइन्छ ।
माओवादीले भने द्वन्द्वकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाम आयोगबाटै टुंग्याउनुपर्ने माग गर्दै आएको छ । तर अहिले तत्कालीन १० वर्षे सशस्त्र युद्धका बेला बाल सैन्य प्रयोगको विषयले सर्वोच्च अदालतमा प्रवेश पाउने भएको छ ।
यसअघि पनि द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर प्रचण्डविरुद्ध परेको अर्को मुद्दा सर्वोच्चमा विचाराधीन छ । तत्कालीन माओवादीका पूर्वबाल सैन्य लेनिन विष्टले प्रचण्ड, बाबुराम भट्टराईसहितलाई विपक्षी बनाएर पेस गरेको रिट निवेदनलाई सर्वोच्च अदालतले जेठ १६ गते दरपिठ गरिदिएको थियो ।
सोही दरपिठ भएको रिटलाई शुक्रबार सर्वोच्चले दर्ता गर्न आदेश दिएसँगै प्रधानमन्त्री प्रचण्डविरुद्ध दोस्रो मुद्दा दर्ता हुने भएको हो । रिट निवेदक विष्टले आफूहरूलाई द्वन्द्वकालमा प्रयोग भएका बाल सैनिकको पहिचान दिलाई क्षतिपूर्ति र परिपूरणका लागि आदेशको माग गरेका छन् ।
शान्ति प्रक्रिया ६ महिनाभित्रै टुंगो लगाउने भनिए पनि राजनीतिक नेतृत्वले चासो नदिई १७ वर्षसम्म झुलाएर राखेपछि यो विषय सर्वोच्चबाटै निरुपण हुनुपर्ने अवस्था आएको कानुन व्यवसायीहरूले बताउँदै आएको छ ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध दर्ता भइरहेका मुद्दा राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी माओवादीको छ । तत्कालीन विद्रोही माओवादी मात्र हैन, अन्य राजनीतिक दलका नेता कार्यकर्तासमेत द्वन्द्वकालीन मुद्दासँग जोडिएका छन् ।
उनीहरूका मुद्दा फिर्ता लिने सरकारको निर्णय विवादमा पर्ने गरेको छ । जसकारण अहिले प्रचण्डलाई यस्ता मुद्दा फेस गर्न निकै सकस पर्ने गरेको बताइन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।