काठमाडौं - आफूलाई बडो परिवर्तनकार्मी र अग्रगामी, विकासको बाहक, नेपाली जनताको भाग्यविधाता भएको दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दक्षिणपन्थी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विस्तारै विस्तारै एमालेको ‘स्याटेलाइट’ अर्थात् उपग्रह बन्ने बाटोमा लागेका छन् ।
मंगलबार माओवादीले कोसी प्रदेश सरकारबाट समर्थन फिर्ता लिँदै बाहिरिने निर्णय गर्न लागेको थियो । तर हतार हतारमा एमाले सरकार ढल्छ भनेर राप्रपाले आफ्नो समर्थन कायमै रहेको बिहानै घोषणा गर्न पुग्यो । तर दिउँसो माओवादीले सरकार छाडेको घोषणा गर्यो ।
अन्य प्रदेशमा एमालेका मुख्यमन्त्रीले विश्वासको मत लिँदा राप्रपा तठस्थ बसेको थियो । तर कोसी प्रदेशमा राप्रपा एमालेसँगे टाँसियो । किनभने केपी ओली र राजेन्द्र लिङ्देन कोसी प्रदेशकै हुन् । अहिले राप्रपा सदनमा एमालेले जे जे भन्यो, उसैउसै गर्ने भइसकेको छ ।
ओली घन्टौंसम्म संसदमा बोलिरहँदा पनि राप्रपाका सांसदहरू आनन्दसँग सुनेर बस्छन् । बेलाबेला ताली बजाउँछन् । रवि लामिछाने नेतृत्वको रास्वपाको हैसियत पनि राप्रपाभन्दा पृथक् देखिएको छैन ।
गत वैशाखमा रास्वपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लियो। ऊ माघमै सरकारबाट बाहिरिएको थियो।
त्यतिबेला रास्वपाका सभापति रवि लामिछानेले भनेका थिए, ‘एउटा रचनात्मक प्रतिपक्ष कस्तो हुनुपर्छ भन्ने धेरैले हेर्न चाहेका छन्। हामी त्यो भूमिकामा देखिन्छौँ।’
तर रचनात्मक प्रतिपक्षीको भूमिकाको उद्घोष गरेको एक महिना नपुग्दै संसद्मा रास्वपाको नयाँपन देखिन छाडेको छ। उसका सबैजसो सांसद अन्य पार्टीका सांसदभन्दा फरक देखिँदैनन्।
मंसिरको निर्वाचन र वैशाखको उपनिर्वाचनले रास्वपाप्रति आममानिसमा निकै चासो देखाएको छ । तर संसद्ले लय लिँदै गर्दा रास्वपाले आममानिसको आशामा खरो उत्रन सकेको देखिन्न ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको नागरिकता विधेयकको प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे रास्वपाको भूमिका खासै उत्साहप्रद देखिएको छैन ।
सोमबार र मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद पनि एमालेकै जस्तो देखिएका थिए । एमालेका सांसद जे जे भन्थे, रास्वपाका सांसद त्यसरी नै नारा लगाउँथे । कुनै पृथक् देखिन्नथ्यो । जनतालाई एमाले र रास्वपाका सांसद छुट्याउन मुस्किल पर्थ्यो।
रास्वपाका सांसदहरु एमालेकै सांसदसँग लय मिलाएर उठ्ने बस्ने गरिरहेका थिए। एमालेका सांसदले हात उठाउँदा रास्वपाका सांसदहरु पनि उठाउँथे।
एमालेका सांसदहरु बस्दा रास्वपाका सांसदहरु पनि बस्थे। एमालेका अध्यक्ष केपी ओलीले भाषण गरिरहँदा रास्वपाका सांसदहरु बीचबीचमा टेबल ठटाइरहेका थिए। उनीहरूको अवस्था देखेर अन्य दलका सांसदले रास्वपा र राप्रपाका सांसदलाई एमालेको ‘स्याटेलाइट’ को संज्ञा दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।