काठमाडौं - सोमबार प्रतिनिधिसभा बैठकमा एमालेलगायतका सांसदले तमासा देखाए ।
सम्बोधन गर्न प्रतिनिधिसभाको रोस्ट्रममा उभिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोल्नै नदिएर एमाले, रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी गर्न थाले ।
प्रचण्डले बोल्न लाग्दा पटक पटक अवरोध गरेर एमाले सांसदहरू संसदीय मूल्य मान्यताकै हुर्मत लिए । त्यसपछि कांग्रेस र माओवादीलगायतका सत्ता पक्षका सांसद पनि कुर्सीबाट उभिएर नाराबाजी गर्न थाले ।
त्यही बीचमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा संविधान हातमा लिएर सभामुख देवराज घिमिरेसँग आफूलाई बोल्न समय माग गरे ।
त्यसअघि एमाले सांसद रघुजी पन्तले बोल्दा पनि सत्तापक्षीय सांसदले हुटिङ गरिरहे । पन्तपछि सभामुख घिमिरेले विश्वप्रकाश शर्मालाई बोल्न समय दिए । त्यसपछि होहल्ला चलिरहेको प्रतिनिधिसभा बैठकमा सन्नाटा छायो ।
सांसद शर्माले संविधानमा उल्लेख भएको धाराको अक्षर अक्षर केलाएर नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयलाई प्रस्ट पारे।
उनले प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा सुन्ने धैर्यता नराखेर नाराबाजी गर्ने र त्यसको विरोध गर्ने सत्तापक्षका सांसदकै आलोचना गरे । शर्माले पाँच मिनेटसम्म संसदमा कसरी प्रस्तुत हुने भनेर सांसदहरूलाई ट्युसन नै लिए ।
जबकि उनी संसदमा पहिलोपल्ट सांसद बनेर गएका हुन् । शर्माले धाराप्रवाह गरेर शिष्ट ढंगले बोलेपछि सबै सांसद कुल भएका थिए।
अनि मात्र रोस्ट्रममा उभिइरहेका प्रधानमन्त्री प्रचण्डले आफ्नो पूरा सम्बोधन बाधारहित ढंगले सिध्याए । प्रतिनिधिसभा बैठकमा सोमबार एमाले अध्यक्ष केपी ओलीले पनि झन्डै एक घन्टा सम्बोधन गरे ।
उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणदेखि यावत् कुरामा सरकारको विरोध गरे । आफ्नो सरकारले गरेका विषयमा लम्बेतान भाषण गरे ।
उनले बोल्दा एमाले, रास्वपा र राप्रपाका सांसदले टेबुल ठटाए । तर, पाँच मिनेट बोलेका कांग्रेस महामन्त्री शर्माका अघि ओलीको भाषण फिक्का सावित भएको विश्लेषण हुन थालेको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको भाषणभन्दा अहिले मिडिया र सामाजिक सञ्जालमा विश्वप्रकाश शर्माको भाषणको तारिफ भइरहेको छ ।
सबैले अहिले विश्वप्रकाशले कांग्रेसका नेता स्व.प्रदीप गिरीको अभावलाई पूरा गर्ने धेरैको टिप्पणी गरेका छन् । जसरी प्रदीप गिरीले बोल्दा संसदमा एकाग्रता छाउँथ्यो सोमबार विश्वप्रकाश बोल्दा त्यही दृश्य देखिएको थियो ।
केही दिनअघि कांग्रेसका अर्का महामन्त्री गगनकुमार थापाले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदा संसदमा सम्बोधन गरेका थिए ।
त्यसबेला पनि प्रतिनिधिसभा बैठकमा सबै उनको सम्बोधन सुन्न एकाग्र भएर बसेका थिए । त्यसैले अब कांग्रेसमा गगन र विश्वले संसदको गरिमा र मर्यादा कायम राख्नेमा सबै आशावादी देखिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।