काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ल्याङफ्याङे कार्यशैलीका कारण तीन महिनादेखि संसदमा कुनै मुद्दा नपाएको एमाले आइतबारदेखि तातेको छ ।
भारत भ्रमण जानुअघि हतारमा नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराएको र बंगलादेशी मोडेलमा नेपाली भूमि साटफेर गर्नसकिने अभिव्यक्तिका कारण एमालेले संसदमा दह्रो मसला पाएको हो ।
जसकारण आइतबारको प्रतिनिधिसभा बैठक एमाले, रास्वपा र राप्रपाले चल्न दिएनन् । राप्रपाले त बैठक सुरु हुनुअघि नै संसद् स्थगनको प्रस्ताव गरेको थियो ।
राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै संसद् स्थगनको माग गरेका थिए । तर ढिलो गरी संसद् बैठक सुरु हुनासाथ एमाले सांसदहरू कुर्सीबाट उठेर नाराबाजी गर्न लागेका थिए ।
सभामुखले पटकपटक बस्न आग्रह गर्दा पनि एमाले, रास्वपा, राप्रपाका सांसदहरू नमानेपछि एक घन्टाका लागि बैठक स्थगित भएको छ ।
एमालेले प्रधानमन्त्री प्रचण्डले संसदमा उभिएर आफूले दिएको अभिव्यक्तिप्रति माफी माग्नुपर्ने तथा नागरिकता विधेयक तत्काल निष्क्रिय बनाउनुपर्ने माग गरेको छ ।
एमाले तत्काल आफ्नो अडानबाट टसमस हुने देखिएको छैन । यदि संसदमै छलफल गराएर नागरिकता विधेयक प्रमाणीकरण गराएको भए केही फरक नपर्ने राजनीतिक विश्लेषकहरूको पनि भनाइ छ ।
तर प्रचण्डकै हतारो बानीले गर्दा जनतामा गिरिसकेको एमाले साख फेरि फर्कने अवस्था सिर्जना भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।