काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले र माओवादीका शीर्ष नेता र प्रमुख सचेतकसहितको बैठक सकिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको तीन दलको बैठक सहमतिका साथ संसद् अगाडि बढाउने गरी टुंगिएको हो । माओवादीका मुख्य सचेतक हितराज पाण्डेले संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समिति गठन गर्ने विषयमा केन्द्रित भएको जानकारी दिए । ‘आज सकारात्मक छलफल भएको छ ।
संसद्को बजेट अधिवेशन जारी छ, संसद्लाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भयो,’ उनले भने । उनका अनुसार बैठकमा सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई छिटो टुंगामा पु¥याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्नेलगायतका विषयमा छलफल भएको थियो ।
संसद्का विषयगत समितिहरू गठन गर्न बाँकी रहेको भन्दै सत्यनिरूपणसम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्ने आवश्यकता रहेको विषयमा बैठकमा छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका उपनेता सुवास नेम्वाङ, माओवादीका मुख्य सचेतक हितराज पाण्डे सहभागी थिए ।
केही दिनदेखि नक्कली शरणार्थी प्रकरणमा ठूला दलका नेता मुछिएपछि प्रचण्ड, देउवा र ओलीबीच तारान्तार बैठक बसिरहेको छ ।
भ्रष्टाचार छानबिनमा दबाब दिन बैठक बसिरहेको आशंका गरिए पनि उनीहरूबीच संसद्लाई प्रभावकारी ढंगले सञ्चालन गर्ने विषयमा सहमति भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।