काठमाडौं - पछिल्लो समय नेपालमा राजनीतिलाई आधार बनाएर कमाउधन्दा निकै फस्टाएको छ । राज्यसत्तामा पुगेका आफ्ना बाबुआमाको नाम देखाएर तिनका सन्तानले लुटधन्दा मच्चाइरहेका छन् ।
घरमूली नेता हुँदा तिनैका सन्तानले बिचौलियाको काम गरिरहेको नक्कली शरणार्थी प्रकरणले खुलस्त पारेको छ । पहिला नेताका सन्तान र परिवारका सदस्य राजनीतिक विरासतका लागि मरिहत्ते गर्थे ।
त्यो पदको सम्मान पनि थियो । तर, पछिल्लो समयमा उनीहरू विभिन्न धन्दा र ‘सेटिङ’ मा लिप्त हुन थालेका छन् । बीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारी, पुष्पलाल श्रेष्ठलगायतका सन्तानले राजनीतिलाई कहिल्यै धन्दा बनाएनन् ।
तर पछिल्लो समय एमाले र माओवादीमा लागेका नेता र तिनका सन्तान बिचौलिया बन्दै तस्करीमा लागेका छन् । नेताका छोराछोरी, पत्नी, नातागोता बिचौलियाका रूपमा देखा परेका छन् ।
पैसा असुली गर्ने, कमिसन खानेसम्मका काममा उनीहरू लागेको पाइएको छ । शक्तिको आडमा वडादेखि संघसम्मै नेताका छोरा, छोरी, आफन्तको राजनीति हाबी भएको छ । नेताले भेट्नु प¥यो, कुनै योजना लिएर जानु प¥यो भने पनि उनीहरूमार्फत मात्रै जानुपर्ने अवस्था रहेको नेताबाटै पीडित बनेकाहरू बताउँछन् ।
रामबहादुर थापा बादल अहिले एमाले उपाध्यक्ष छन् । तीन दशकभन्दा बढी उनी माओवादीमा लागेर एमाले प्रवेश गरेका हुन् । उनी लामो समय गृहमन्त्री बनेका थिए ।
२०७४ फागुन १४ गतेदेखि २०७८ असार २८ गतेसम्म उनी गृहमन्त्री रहे । वाम गठबन्धनमा यो सरकारमा माओवादीको तर्फ नेतृत्व गर्दै बादल गृहमन्त्री भएका थिए ।
उनी गृहमन्त्री भएको बेला नै छुट भुटानी शरणार्थीको विवरण संकलन गर्न गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बनेको थियो ।
बादलकै पालामा नक्कली शरणार्थी बनाउने प्रयास भएको थियो । त्यो काममा बादलकै सुरक्षा सल्लाहकार इन्द्रजित नै लागे । यो प्रकरणमा बादलका छोरा प्रतीक थापाको नाम पनि जोडिएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको अभियोग उनीमाथि छ ।
प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी फरार छन् । टोपबहादुर रायमाझी एमालेका निलम्बित सचिव हुन् । उनी पनि माओवादीबाटै एमालेमा प्रवेश गरेका हुन् ।
पक्राउ पुर्जी जारी भएका उनी हाल फरार छन् । डा. बाबुराम भट्टराई माओवादीमा रहँदासम्म टोपबहादुर रायमाझी उनका नजिकका नेता मानिन्थे । भट्टराईले माओवादी छोडे र रायमाझी माओवादीमै रहे ।
२०७५ जेठ ३ मा एमाले र माओवादी मिलेर नेकपा बन्यो । २०७७ फागुन २३ सर्वोच्च अदालतले नेकपा भंग गरेर एमाले र माओवादीलाई बिउँत्याइदियो । मन्त्री रहेका टोपबहादुर एमालेमै बसे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र उनका छोरा सन्दीप दुवै मुछिएका छन् । छोरा सन्दीपलाई प्रहरी पक्राउ गरिसकेको छ ।
सन्दीप यो प्रकरणमा बिचौलियाका भूमिकामा रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो । टोपबहादुर बिरामी भन्दै फरार छन् । माओवादी नेता इन्द्रजित राई सुरक्षाविज्ञको रूपमा चर्चित थिए ।
यो प्रकरणको मुख्य योजनाकार नै राई रहेको बताइएको छ । उनले रामबहादुर थापा बादल गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकारको रूपमा २०७४ फागुन १४ गतेदेखि २०७८ असार २८ गतेसम्म काम गरे ।
यो समयमा नै नक्कली भुटानी शरणार्थी बनाउने योजनामा उनको नै मुख्य भूमिका रहेको देखिएको छ । द्वन्द्व विशेषज्ञका रूपमा चिनिने उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । राईले गृहमन्त्री, गृहसचिवलगायतलाई मिलाउनुपर्छ भन्दै गिरोहबाट पटक–पटक गरी पाँच करोड रकम लिएको खुलेको छ । उनका छोरा निरज राईको यो प्रकरणमा संलग्नता देखिएको छ ।
प्रहरीले निरजविरुद्ध पक्राउ पुर्जी नै जारी गरिसकेकोे छ । तर, उनी फरार छन् । बाबुछोरा नै यो गिरोहसँग मिलेर नक्कली शरणार्थी बनाउने काममा लागेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पनि बिचौलियामा पर्छन् । बादल र टोपबहादुरका छोरासँग मिलेर दिपेशले ठगी साम्राज्य नै खडा गरेको बताइन्छ ।
उनले काठमाडौैंमा अर्बौंका सम्पत्ति जोडेको माओवादी नेताहरु नै बताउँछन् । दिपेश अहिदे अखिल क्रान्तिकारीका महासचिव छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।