काठमाडौं - नकक्ली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् ।
पार्टी नेतृत्वले नै जोगाउने प्रयास गरिरहेको आरोप लागेपछि एमालेले रायमाझीलाई बुधबार सचिवबाट निलम्बन गरेको छ ।
मंगलबार मात्र एमालेले रायमाझीलाई कारबाही गर्नुपर्ने कुनै कारण देखेको थिएन । तर चौतर्फी दबाब र कांग्रेस नेता खाँण पक्राउ परेपछि बाध्य भएर एमालेले सचिवबाट निलम्बन गरेको छ ।
अझै पनि रायमाझी कहाँ छन् भन्ने कसैले भेउ पाएको छैन । अहिलेसम्म यो प्रकरणमा हाइप्रोफाइल नेता पक्राउ परेकामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण मात्र हुन् ।
खाँण पक्राउ परेपछि अहिले नेपालको राजनीतिमा एउटा प्रश्न उब्जेको छ, ‘कांग्रेसले किन ढाकछोप गर्न चाहेन ?’ कांग्रेस आफैं सत्तारुढ दल हो । उसका शक्तिशाली नेताहरू सरकारमा छन् ।
तर, प्रमुख प्रतिपक्षमा रहेको एमालेले भने आफ्ना नेतालाई जोगाउँदै आएको छ । कांग्रेस नेताहरू नै ठगीकाण्डमा मुछिएका नछुटुन् कारबाहीमा परुन् भनिरहेको छ ।
तर एमाले भने संगठित अपराधमा लागेकालाई भएभरको शक्ति प्रयोग गरी जोगाउन लागिपरेको छ । भ्रष्टाचारीको मुख पनि हेर्दिनँ भन्ने केपी ओली अहिले भ्रष्टाचारीलाई ग्वामलांग अंगालो हाल्न लागिपरेका छन् ।
यति काण्ड, ओम्नी काण्ड, वाइडबडी काण्ड, ललिता निवास काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, एनसेल काण्ड, चिया बगान, कोरोनाकालको भ्रष्टाचार, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड काण्ड यी सबैमा एमाले नेताहरू मुछिएका छन् ।
एमाले अध्यक्ष ओलीले ईश्वर पोखरेल, भानुभक्त ढकाल, गोकुल बास्कोटा, रवीन्द्र अधिकारी, विष्णु पौडेल, महेश बस्नेत, लक्ष्मी महतो, टोपबहादुर रायमाझीलगायतलाई उन्मुक्ति दिँदै संरक्षण गरिहेका छन् ।
सरकारले चाँडै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भएको अनियमितताको फाइल खोल्ने भएको छ । जुन काण्डमा ७० करोड घुस बार्गेनिङमा एमाले नेता गोकुल बास्कोटा सामेल थिए । सोही कारण उनले सञ्चारमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो ।
माओवादीकालमा पनि धेरै ठूल्ठूला भ्रष्टाचार भएका छन् । क्यान्टोनमेन्टमा साढे चार अर्ब घोटाला, कृष्णबहादुर महराले चिनियाँ नेतासँग ५० करोड बार्गेनिङ काण्ड, करको दर हेरफेर काण्डमा जनार्दन शर्मा मुछिएका छन् ।
लडाकु शिविर काण्डमा पुष्पकमल दाहाल प्रचण्ड र वर्षमान पुन मुछिएका छन् । तर अहिलेसम्म माओवादी नेता मुछिएको भ्रष्टाचार काण्डको फाइल खुलेको छैन ।
खुलेका दिन माओवादीका ठूला नेता सबै जेल पर्ने निश्चित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।