काठमाडौं - मंसिरको निर्वाचन, हालै सम्पन्न उपनिर्वाचन, भ्रातृंगठनको अपूर्णता, मन्त्री चयनलगायतका विषयले नेपाली कांग्रेसमा रडाको झन् झन् बढ्न थालेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीभित्रै संघर्ष थाल्ने संकेत गरेका छन् ।
पछिल्लो समय मन्त्री चयनमा देउवाले आफूहरूलाई बाइपास गरेपछि असन्तुष्ट महामन्त्रीद्वय थापा र शर्मा आन्तरिक तयारीमा लागेका हुन् ।
महामन्त्री थापाले त आइतबार यसबारे सार्वजनिक रूपमै घोषणा गरिसकेका छन् ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले समेत निरीह बनेर पदमा बस्नुभन्दा राजीनामा दिएर हिँड्ने चेतावनी दिइसकेका छन् ।
बुधबार कांग्रेस सभापति देउवा निवासमा बसेको बैठकमा शर्माले खुला चेतावनी दिएका हुन् ।
महामन्त्री शर्माले कांग्रेस रूपान्तरणका लागि सभापति तयार नभए राजीनामा दिएर कार्यकर्तास्तरबाट रूपान्तरणका लागि दबाब सिर्जना गर्नुको विकल्प नरहेको चेतावनी दिएका थिए ।
उनी सभापतिले आफूखुसी गर्दै जाने हो भने महामन्त्री भइरहनुको औचित्य नहुने भन्दै खरो रूपमा प्रस्तुत भएका थिए ।
‘पार्टी रूपान्तरणमा सभापतिज्यू तयार नहुने र सुस्त भइरहने हो भने कहिलेसम्म महामन्त्रीले अबजस लिइरहने रु त्यस्तै हो भने, म महामन्त्रीबाट राजीनामा दिन्छु, सांसद मात्रको भूमिकामा रहन्छु ।
त्यसवेला पार्टी रूपान्तरणका लागि कार्यकर्तास्तरबाट दबाब दिनुको विकल्प हुनेछैन । सभापतिज्यूले आफूअनुकूलको महामन्त्री बनाउनुस् । अब ‘रिफर्म अर रिजाइन नै हो,’ शर्माले भनेका थिए ।
पर्वतबाट समानुपातिकका उम्मेदवारसहित ४० जनाले कांग्रेस परित्याग गरिसकेका छन् । कांग्रेसमा सच्चिने कि सक्किने भन्ने बहस सुरु भइसकेको छ ।
तर सभापति देउवा परम्परागत ढंगमै चल्न थालेपछि परिस्थिति फरक देखिन थालेको छ ।
कांग्रेसले मंसिरको निर्वाचन गर्न समीक्षा बैठक बस्ने भनेको थियो ।
तर अहिलेसम्म समीक्षा बैठक बस्न सकेको छैन । महाधिवेशन सकिएको एक वर्षभित्रै नीति महाधिवेशन हुनुपर्ने विधानमा व्यवस्था छ । तर महाधिवेशन सकिएको पनि डेढ वर्ष भइसकेको छ ।
महामन्त्री थापा र शर्मा अहिले नीति महाधिवेशनको माग गरिरहेका छन् । तर देउवाले चाहिरहेका छैनन् । त्यसैले थापा र शर्मा आक्रोशित भएका हुन् ।
नीति महाधिवेशनको माग उठेपछि अहिले भ्रातृ संगठन र विभागलाई पूर्णता दिन लागिएको छ । नीति महाधिवेशनको फम्र्याट कस्तो हुन्छ ? टुंगो छैन ।
त्यसमा महाधिवेशन प्रतिनिधि सबै हुने कि, महासमिति सदस्यमात्रै ? यसको टुंगो लागेको छैन ।
यदि सभापति देउवा पुरानै ढर्रामा चल्ने देखिए थापा र शर्मा जुनसुकै कदम उठाउन पनि तयार देखिएका छन् । त्यसका लाथि मनस्थिति पनि बनाइसकेका छन् ।
खासगरी पार्टीको तल्लो तह र शुभेच्छुकले कांग्रेसलाई पूरै सुधारको जरुरी भएको बताउन थालेका छन् ।
पार्टीका सबल र इमान्दार नेता कार्यकर्ता लाखापाखा लाग्न थालेपछि अहिले थापा र शर्मामाथि चुनौती पनि बढेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।