काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एमाले र माओवादीको तानातानमा परेका छन् ।
उपनिर्वाचनबाट सानदार ढंगले पुनः सांसद चुनिएका रविलाई आकर्षक मन्त्रालय दिएर सरकारमा सहभागी गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चाहना छ । उनले रविसँग यसबारे कुराकानीसमेत गरिसकेका छन् ।
तर एमाले अध्यक्ष केपी ओली भने रास्वपालाई प्रचण्ड नेतृत्वको सरकारमा जान रोक्ने प्रयासमा लागेका छन् । रास्वपा सरकारमा जानेवित्तिकै प्रचण्ड साढे दुई वर्षसम्म नढल्ने निश्चित जस्तै भएपछि ओली अहिले रास्वपालाई रोक्ने अभियानमा लागेका हुन् ।
त्यसका लागि ओलीले रविलाई प्रधानमन्त्रीको अफरसमेत गरेको बुझिएको छ । जबकि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पालैपालो प्रधानमन्त्री बन्ने सहमतिको विरोध गरिरहेका ओलीले रविलाई प्रधानमन्त्रीको अफर गर्नुको पछाडि सरकार ढाल्ने नियत रहेको बुझिएको छ ।
आउँदो शुक्रबार बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने, समर्थन फिर्ता लिने कि नलिने भन्ने निर्णय गर्दैछ । त्यही भएर अहिले नै ओलीले रविलाई प्रधानमन्त्रीको ललिपप देखाएको देखिन्छ ।
जबकि रविको पार्टी सामेल नभए पनि प्रचण्ड नेतृत्वको सरकार ढल्ने अवस्था छैन । यति थाहा हुँदाहुँदै पनि ओलीले रविलाई प्रधानमन्त्रीको अफर गरे होलान् भन्नेमा कसैले पत्याइहाल्ने अवस्था भने छैन ।
यद्यपि रवि धेरै नै महत्वाकांक्षी भएकाले प्रधानमन्त्रीको लोभमा सरकारमा सहभागी नहुन पनि सक्ने विश्लेषण गर्न थालिएको छ । प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछानेबीच सरकारमा सहभागी हुनेबारे छलफलसमेत भएको छ ।
गत सोमबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकमा लामिछानेले प्रधानमन्त्री प्रचण्ड आफूहरूले राखेको मागमा सहमत भएको ब्रिफ्रिङ गरेका थिए ।
१० पुसमा भएको एमालेसहितको गठबन्धनमा रास्वपाले उपप्रधानमन्त्री तथा गृह मन्त्रालय, श्रम र शिक्षा मन्त्रालय पाएको थियो ।
स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री पाएको थियो । उपप्रधान तथा गृहमन्त्री बनेर सभापति लामिछाने मन्त्रिपरिषद्मा सहभागी थिए ।
नागरिकतालाई लिएर सांसदको अयोग्यतासम्बन्धी मुद्दामा सर्वोच्चले गत १३ माघमा फैसला गरेपछि लामिछाने गृहमन्त्रीबाट बाहिरिएका थिए । रास्वपाका अन्य सांसदले २२ माघमा राजीनामा बुझाएर बाहिरिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।