काठमाडौं - हालै सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसले ठूलो क्षति बेहोरेपछि पार्टीमा सुधारको आवश्यकता रहेको टिप्पणी र विश्लेषण भइरहेको छ ।
पार्टीका समर्थक र शुभेच्छुकले कांग्रेसलाई तलैदेखि माथिसम्म सुधार गर्नुपर्ने सुझाव दिइरहेका बेला कांग्रेस महामन्त्री गगन थापाले पनि पार्टीमा रुपान्तरण गर्न जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनुपर्ने परिस्थिति आएको बताएका छन् ।
उनले पार्टीमा रुपान्तरणको यात्रा प्रारम्भ भइसकेको र अब जुनसुकै निर्णय लिन पनि तयार हुनुपर्ने परिस्थिति बन्दै गएको बताएका हुन् ।
उपनिर्वाचनमा निर्वाचित तीनवटै क्षेत्रका सांसदहरुलाई बुधबार सामाजिक सन्जालमार्फत बधाई दिँदै थापाले जनताको चाहनाबमोजिम कांग्रेसलाई अझै लोकतान्त्रिक, प्रगतिशील, समावेशी र निर्णायक राजनीतिक शक्तिको रुपमा स्थापित गर्ने घोषणा पनि गरे । ‘पार्टी रुपान्तरण र सुदृढीकरणको यात्रा प्रारम्भ भइसकेको छ ।
हामीलाई अल्मलिने न छुट छ न त समय नै । यही समर्पित र संगठित प्रयत्नले परिणाम पनि उत्साहजनक बनाउने ठाँउमा हामी छिट्टै नै अवश्य पुग्नेछौं भन्ने मलाई दृढ विश्वास छ,’ उनले भनेका छन्, ‘पार्टीलाई रूपान्तरण गरी जनचाहनाअनुसार अझै लोकतान्त्रिक, प्रगतिशील, समावेशी र निर्णायक राजनीतिक शक्तिको रुपमा नेपाली कांग्रेसलाई स्थापित गर्नेछौं ।
र, जननायक बीपी कोइरालाको परिकल्पना अनुरुपको “समुन्नत नेपाल सम्मानित नेपाली” को हाम्रो संकल्प पूरा गर्नेछौं। 'नेता थापाले उपनिर्वाचनको परिणामले कांग्रेसलाई दिएको सन्देशका सन्दर्भमा भएको बहसले कांग्रेस रुपान्तरणको अभियानमा मद्दत नै पुग्ने विश्वास रहेको पनि उल्लेख गरेका छन ।
‘उपनिर्वाचनको परिणामले विशेषगरी नेपाली कांग्रेसलाई दिएको सन्देश के हो, र यो सन्देशलाई पार्टीले कसरी लिनुपर्छ भन्नेलगायतका सन्दर्भमा सार्वजनिक बहस र विश्लेषण भइरहेका छन् ।
पार्टीभित्र र पार्टी बाहिर देश विदेशमा रहनुभएका शुभेच्छुक, समर्थक तथा आम मतदाता समेत विभिन्न माध्यमबाट बहसमा सहभागी हुनु भएको छ,’ उनी भन्छन् ‘राजनीतिप्रतिको यो चासो र चिन्ताले नेपालको राजनीतिको शुद्धीकरण र नेपाली कांग्रेस रूपान्तरणको अभियानलाई थप मद्दत पुग्छ भन्ने म ठान्दछु ।'
लोचना, सुझाव र सन्देशहरुलाई कांग्रेसले आत्मसात गरेर इमान्दार आत्मसमीक्षा गर्ने समय रहेको उनको भनाइ छ ।
‘पार्टीमा जहाँ समस्या छ त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन सम्भव छैन । त्यसैले, सौम्यता र धैर्यतापूर्वक सवैको कुरा सुनौं, मनन गरौं अनि आफैतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिने गरी लागौं,’ थापाले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।