काठमाडौं - प्रधानमन्त्री नियुक्ति भएलगत्तै पुष्पकमल दाहाल प्रचण्डले तेस्रो कार्यकाल उदाहरणीय बनाउँछु भनेर घोषणा गरेका थिए ।
जहाँ गएर भाषण गरे पनि यसपटक कुरा कम, काम बढी गर्छु भन्थे । तर प्रधानमन्त्री भएको झन्डै चार महिना हुन लाग्दा उनी खुद्रामसिना काममै व्यस्त भइरहेका छन् । प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान धनगढी प्रस्थान गरेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । हेलिकप्टर चार्टर नगरी उनी यसपटक नियमित उडानमार्फत प्रचण्ड धनगढी प्रस्थान गरेका हुन् । उनी आजै काठमाडौँ फर्किने कार्यतालिका छ ।
केही दिनअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री र मन्त्रीहरूलाई कम्तीमा तीन महिनासम्म सार्वजनिक कार्यक्रममा मुखै देख्न नपाए हुन्थ्यो भनेर आफूले आश गरेको बताएका थिए ।
हरेक दिन नयाँ नयाँ काम गर्नुपर्नेमा प्रचण्ड भने गोष्ठी, सेमिनार, भेला, दीक्षान्त समारोह, उदघाटनमै व्यस्त भइरहेका छन् । चार महिनासम्म संघीय सरकारले पूर्णता पाउन सकिरहेको छैन । प्रदेश सरकारहरूको अवस्था पनि त्यस्तै छ ।
टीआरसी विधेयकलगायत प्रतिनिधिसभालाई बिजनेस दिने काम प्रधानमन्त्रीको हो । तर प्रचण्ड अझै पनि गम्भीर देखिएका छैनन् ।
एमाले अध्यक्ष केपी ओलीले भने जस्तै प्रचण्ड सबै कुरा हुन्छ भन्ने तर माखो नमार्ने अवस्थामा पुगेका छन् । सबैलाई जे पनि हुन्छ भनिदिने प्रचण्ड चरित्रले उनको साढे दुई वर्षे प्रधानमन्त्रीत्व काल पनि खेर जाने निश्चित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।