काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लडेका स्वर्णिम वाग्लेमाथि कडा टिप्पणी गरेका छन् ।
तनहुँ १ मा पार्टीका उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी दर्ताअघि भएको चुनावी सभालाई सम्बोधन गर्दै थापाले अब केही दिन न्याय–अन्याय, मान–अपमानको विषय सुनिने बताए । पञ्चायतको कालरात्रिका बेला शान्तिपूर्ण ढंगले जीवन बिताउँछु मात्र भनेको भए राष्ट्रिय पञ्चायतको सदस्य, मन्त्री पाउने नेताहरुको अगाडि आफूले संघर्षको कुरा गर्न नसुहाउने उनले बताए ।
तर आफूहरुले पनि मन्त्री र सांसद बन्छु कि बन्दिनँ भनेर नहेरेको बताए । त्यसो यस्तो हेरेको भए विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरु आफ्नो समर्थक नबस्ने र आफूले पनि शेरबहादुर देउवासँग संसदीय दलको चुनाव नलड्ने उनले सुनाए ।
आफूहरु पार्टीभित्र संघर्ष गरिरहेको र निरन्तरको संघर्षबाट कांग्रेसमा बदलाव ल्याउने उनले बताए । ‘एउटा सांसद बन्ने कुरा वा एउटा मन्त्री बन्ने कुरा म बन्ने कुरा, म बाहेक अरु कोही छैन भन्ने लोभ भएको भए आज शेरबहादुर देउवासँग संसदीय दलको चुनाव लड्न म जान्नथें’ उनने भने, ‘मेरो प्रस्तावक बन्न विश्वप्रकाश शर्मा आउँदैनथे, समर्थक बस्न प्रदीप पौडेल आउँदैनथे ।’
कांग्रेसमा सुधार आफूहरुको लडाइँ भएको भन्दै उनले भ्रममा नपर्न देशभरिका तन्नेरीहरुलाई आग्रह गरे । कांग्रेस छाडेर रास्वपाका उम्मेदवार वाग्लेको नाम नलिई उनले भने, ‘कहिलेकाहीं साथीहरु भन्नुहुन्छ यति वर्ष विदेशमा यो गरेर आएको, जागिर छाडेर आएको । मलाई भन्न मन लाग्छ मैले त जागिर नखाएको, तिमीले जागिर खाएर छोडेर आएको ।’
उनले अघि भने, ‘मलाई त भन्न मन लाग्छ, तिमी त जागिर खाएको, घर बनाएको, पेन्सन पकाएको अनि आएको, म त त्यो बेलामा सडकमा लडेर बसेको ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।