काठमाडौं– आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज हुँदैछ। तनहुँ–१, चितवन–२ र बारा–२ बाट प्रतिनिधि सभा सदस्य चयन गर्न उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो।
कांग्रेसका रामचन्द्र पौडल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१, जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा–२ र नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाले रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचनका लागि यही चैत १८ गते सञ्चालनमा आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ।
उपनिर्वाचनका लागि तनहुँमा ७६० जनशक्ति परिचालन गरिने भएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले हाल कर्मचारीको विवरण सङ्कलनको काम भइरहेको जानकारी दिए। ‘विभिन्न कार्यालयमा रहेका कर्मचारीको विवरण माग गरेका छौँ,’ उनले भने, ‘कर्मचारी खटनपाटनको काम चैत मसान्तबाट हुन्छ।’
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका ४२ वडामा ६९ मतदानस्थल तथा एक सय ५२ मतदान केन्द्र छन्। प्रत्येक मतदान केन्द्रमा पाँच जनाका दरले कर्मचारी खटाउने तयारी गरिएको छ। ‘उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि मात्रै चुनाव भएकाले धेरै कर्मचारी खटाउनुपरेन, मङ्सिर ४ गतेको निर्वाचनमा प्रदेशसभातर्फ पनि उम्मेदवार हुँदा धेरै कर्मचारी खटाइएको थियो,’ प्रमुख ढकालले भने।
विभिन्न मतदान केन्द्रको निरीक्षण पनि सुरु गरिएको छ। उम्मेदवारी दर्ता र निर्वाचन चिह्न प्रदान गरेपछि कर्मचारी खटनपटनको कामलाई अगाडि बढाइने उनले बताए।
निर्वाचन आयोगले तनहुँ १ को मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई नियुक्त गरेको छ। जिल्ला समन्वय समितिको कार्यालय भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
मुख्य निर्वाचन अधिकृत आचार्यले सबैको सहयोगबाट निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्षरुपमा सम्पन्न गर्न सकिने बताए। जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, पत्रकारलगायतको सहयोगबाट निर्वाचनलाई मर्यादित र भयरहित रुपमा सम्पन्न गर्न सहयोग आवश्यक भएको उल्लेख गरे।
तनहुँ–१ मा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा वैशाख १० गते आइतबारका दिन हुने उपनिर्वाचनका लागि यो क्षेत्रमा एक सय ८५ मतदाता घटेर एक लाख २३ हजार तीन सय पाँच कायम भएको छ।
मतदाता नामावली अद्यावधिकका क्रममा मृत्यु भएका, दोहोरो नाम भएका, बसाइँसराइ गरेकाको नाम हटाउँदा मतदाता घटेको निर्वाचन कार्यालयले जनाएको छ। उपनिर्वाचनका लागि माघ २९ गतेसम्म मतदाता नामावलीमा दर्ता गरेकाले मत हाल्न पाउने निर्णय भएको कार्यालयले जनाएको छ।
मङ्सिर ४ गतेसम्म तनहुँ १ मा एक लाख २३ हजार चार सय ९० मतदाता थिए। निर्वाचनमा ६६ हजार नौ सय ६५ मत खसेकामा नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल २५ हजार तीन सय १८ मत प्राप्त गरी विजयी हुनुभएको थियो। प्रतिस्पर्धी नेकपा ९एमाले० का एकबहादुर रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गरेका थिए। कांग्रेसका वरिष्ठ नेता पौडेल राष्ट्रपतिपदमा निर्वाचित भएपछि रिक्त रहेको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दिने भएका छन्। उम्मेदवारी दर्ताका क्रममा पार्टीका महामन्त्री गगनकुमार थापा उपस्थित रहने बताइएको छ। भट्टराई शनिबार गृह जिल्ला पुगेर कार्यकर्ता भेटघाटमा व्यस्त छन्।
एमालेबाट पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र रास्वपाबाट अर्थविद् स्वर्णिम वाग्लेले उम्मेदवारी दिने भएका छन्। संघीय सत्तामा गठबन्धन गरेपनि एकीकृत समाजवादीको स्थानीय नेतृत्वले पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी गरेको छ। माओवादीले कांग्रेसलाई समर्थन गर्ने बताउँदै आएको छ।
चितवन–२ मा रास्वपाले केन्द्रीय सभापति रवि लामिछानेलाई नै उम्मेदवार बनाउने भएको छ। कांग्रेस र एमालेले भने यस पटक उम्मेदवार परिवर्तन गरेका छन्। नागरिकता विवादको मुद्दामा सर्वोच्चको फैसलाले उनको सांसद पद खारेज भएको थियो।
कांग्रेसले यस पटक पार्टीका पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनको मनोनयनको संयोजन गर्न पार्टीले महामन्त्री विश्वप्रकाश शर्मालाई खटाएको छ। मनोनयपछि आयोजित सभामा उनले सम्बोधन गर्ने बताइएको छ।
एमालेले पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उठाउने भएको छ। गत मंसिरको निर्वाचनमा लामिछाने ४९ हजार २ सय ६१ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका उमेश श्रेष्ठको १४ हजार ९ सय ८३ मत आएको थियो भने तेस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४७ मत पाएका थिए।
मंसिरमा चितवन–२ मा १ लाख २४ हजार १४ मतदाता रहेकामा ८४ हजार ३ सय १५ मत खसेको थियो। यस पटक मतदाता संख्या १ लाख २४ हजार ६ सय ९५ पुगेको छ। कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकासहित चितवन–२ मा भरतपुर महानगरपालिकाका २९ मध्ये १० वटा वडा यो क्षेत्रमा पर्छन्। ४३ मतदानस्थल र १ सय ३८ मतदान केन्द्र छन्।
बारा–२ मा सत्ता गठबन्धनका कांग्रेस, माओवादी, लोसपालगायतको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिनेछन्। मुख्य प्रतिस्पर्धी मानिएको एमालेले भने आइतबार साँझसम्म उम्मेदवार टुंगो लगाएको छैन। आमजनता पार्टीले सोही क्षेत्र निवासी गत चुनावमा प्रतिस्पर्धा गरेका अधिवक्ता अरुण ज्ञवालीलाई उम्मेदवार बनाउने तयारी छ। गत चुनावमा स्वतन्त्र उठेका ज्ञवालीले ७ हजार ६ सय ९८ मत पाएका थिए। रास्वपाबाट रमेश खरेल उम्मेदवार बन्दैछन्।
जनमत पार्टीले गत मंसिरको चुनावमा कांग्रेस, लोसपालगायतको गठबन्धनमा माओवादीबाट उम्मेदवार बनेर दोस्रो भएका शिवचन्द्र कुसवाहलाई पार्टी प्रवेश गराएर उम्मेदवारका रूपमा अघि सारेको छ। कुसवाह ३ सय ५४ मतको फरकले पराजित भएका थिए। कुसवाहले १३ हजार ४ सय ६८ मत पाउँदा एमालेको समर्थनमा उठेका रामसहाय १३ हजार ८ सय २२ मत ल्याई विजयी भएका थिए।
यो क्षेत्रमा यादव समुदायको बाहुल्य छ। त्यसपछि मुस्लिम र थारू छन्। पचपहुनिया जातिको मत आफूलाई आउने र त्यही निर्णायक बन्न सक्ने विश्वासमा कुसवाह छन्। यसैगरी चौथो स्थानमा कांग्रेसका बागी उम्मेदवार रोशन भनिने रवीन्द्र यादव थिए। उनले १० हजार ७ सय ५० मत ल्याएका थिए। एमालेले उनलाई भित्र्याएर चुनावी प्रतिस्पर्धामा उत्रने लक्ष्य बनाएको थियो तर रणनीति सफल भएन। यसपछि पार्टीले यहाँ उम्मेदवार बनाउने विषयमा आधिकारिक रूपमा निर्णय लिएको छैन।
बारा–२ मा १ लाख ५ हजार मतदातामध्ये पुरुष ५८ हजार ७ सय ४२ र महिला ४६ हजार २ सय ६९ छन्। मतदानस्थल ८२ र मतदान केन्द्र १ सय ३६ छन्। यस क्षेत्रमा पचारौता र महागढीमाई नगरपालिका र देवताल, सुवर्ण र करैयामाई गाउँपालिका पर्छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।