शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

उपनिर्वाचनमा सबैतिर कांग्रेस बलियो तर गठबन्धनले अरु दललाई छाड्नुपर्ला ? यस्तो हिसाबकिताब

उपनिर्वाचनमा सबैतिर कांग्रेस बलियो तर गठबन्धनले अरु दललाई छाड्नुपर्ला ? यस्तो हिसाबकिताब

  • मिडिया डबली
  • बुधवार, कार्तिक २४ २०७८

  • 4.4K
    SHARES

  • उपनिर्वाचनमा सबैतिर कांग्रेस बलियो तर गठबन्धनले अरु दललाई छाड्नुपर्ला ? यस्तो हिसाबकिताब

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका आयुक्त तथा पदाधिकारीबीच उपनिर्वाचनको विषयमा केही दिनअघि छलफल भयो । २०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रिक्त प्रतिनिधि सभातर्फ ४ र प्रदेश सभातर्फ १८ गरी २२ सिटमा उपनिर्वाचन गर्नुपर्ने सुझाव आयोगले सरकारलाई दियो ।

    प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीसँगको छलफलमा दलहरुसँग सल्लाह गरेर जवाफ दिने बताएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुसँग एक चरण छलफल गरिसकेका छन् ।

    प्रधानमन्त्री देउवा अब छिट्टै नै संसद्मा रहेका प्रमुख राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने तयारीमा रहेका छन् ।

    संवैधानिक व्यवस्थाअनुसार सांसदको पद रिक्त भएको ६ महिनाभित्र उपनिर्वाचन गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभामा २७५ सांसद रहने व्यवस्था रहेको छ तर अहिले ४ सिट खाली छ ।

    नेकपा माओवादी केन्द्रबाट निर्वाचित यी चारै जना सांसद एमाले प्रवेश गरेपछि उपनिर्वाचन गर्नुपर्ने अवस्था आएको छ । एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गर्दा सांसद पद रिक्त हुन गएको छ ।

    २०७४ सालमा तत्कालीन एमाले र माओवादी केन्द्रको वाम गठबन्धन तर्फका साझा उम्मेदवार बनेर चारै जना सांसद निर्वाचित भएका थिए । रौतहट–३ बाट प्रभु साह, अर्घाखाँची–१ बाट टोपबहादुर रायमाझी, कैलाली–३ बाट गौरीशंकर चौधरी र कैलाली–४ बाट लेखराज भट्ट निर्वाचित भएका थिए ।

    अब हुने उपनिर्वाचनबाट यी ४ वटै क्षेत्रमा कुन दलका उम्मेदवार विजयी हुनेछन् ? यत्तिकै भन्न सक्ने अवस्था छैन । किनकि अहिले वाम गठबन्धन छैन, फुटेको छ । 

    माओवादीबाट विजयी सांसद नै एमाले प्रवेश गरेकाले माओवादी यी चारै क्षेत्रमा कमजोर बनेको छ । गत निर्वाचनमा अत्यन्तै उत्साहजनक नतिजा ल्याएको एमाले समेत अहिले कमजोर अवस्थामा रहेको छ । एमाले फुटेर एकीकृत समाजवादी गठन भएकाले एमालेको साख पहिलाको जस्तो देखिएको छैन ।

    अर्को कुरा वाम गठबन्धन भत्केर अर्को गठबन्धन बनेको छ । ५ दलीय गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा रहेका छन् तर माओवादीले जितेको यी चारै सिट माओवादीले नै पाउने कि गठबन्धनमा आवद्ध दलले भागबण्डा गर्ने स्पष्ट भइसकेको छैन ।

    ५ दलीय गठबन्धनका शीर्ष नेताहरुले आगामी आमनिर्वाचनसम्म ५ दलीय गठबन्धन रहने भन्दै आएका छन् तर सत्ताको नेतृत्व गरेको दल कांग्रेसका केही प्रभावशाली नेताहरुले आगामी निर्वाचनमा गठबन्धन नहुने प्रस्ट संकेत गरिसकेका छन् । उनीहरूले गठबन्धन आमनिर्वाचनसम्म रहन्छ भन्ने कुरा बोल्नुभन्दा कांग्रेस एक्लै चुनावमा सहभागी हुने अभिव्यक्ति दिँदै आएका छन् ।

    अहिलेको अवस्था विश्लेषण गर्दा वाम गठन्धन फुटेकाले कांग्रेस बलियो अवस्थामा रहेको छ । त्यसैले कांग्रेसले निर्वाचनमा गठबन्धनको आवश्यकता महसूस गरेको देखिँदैन ।

    अब विश्लेषण गरौं, उपनिर्वाचन हुने ४ क्षेत्रबारे । रौतहट–३ बाट एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट प्रभु साह २०७४ सालको प्रतिनिधिसभा चुनावमा २७ हजार ७९९ मत ल्याएर विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार यादवले १८ हजार २०६ मत ल्याएका थिए । उनीहरुबीचको मतान्तर ९ हजार ५९३ रहेको थियो ।

    तत्कालीन राजपा नेपालका ओमप्रकाश जैसवालले १४ हजार ६५८ मत ल्याएका थिए । त्यसबेला माओवादीबाट उठेर जितेका साह अहिले एमालेमा रहेका छन् । उनलाई एमालेले टिकट दिन्छ दिँदैन, यकिन छैन । तैपनि उनी एमालेका बलियो दाबेदार रहेका छन् । एमाले र माओवादीको मतबाट विजयी बनेका उनको अवस्था पहिलाको जस्तो छैन । यहाँ एमाले कमजोर छ, उता माओवादीमाथि आफ्नो पुरानो वर्चस्व कायमै रहेको देखाउनुपर्ने चुनौती छ । यो क्षेत्र नवगठित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला पनि हो । यसले पनि यो क्षेत्रको निर्वाचनलाई चासोपूर्वक हेरिने छ ।

    मधेशको जिल्ला भएकाले यहाँ मधेसवादी शक्तिले के गर्ने भन्ने विषयले समेत महत्त्व राख्छ तर तत्कालीन निर्वाचनमा यहाँ जसपाले राजपालाई समर्थन गरेको र अहिले २ दल छुटाछुट्टै अस्तित्वमा रहेका छन् । जसपा ५ दलीय गठबन्धनमा छ भने राजपा छैन तर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला भएका कारण साहलाई विजयी प्राप्त गर्न सकस रहेको देखिन्छ ।

    उपनिर्वाचन भएको अवस्थामा रौतहट–३ मा कांग्रेसबाट सुनिल यादव, माओवादी केन्द्रबाट विन्देश्वर यादव (ए), एकीकृत समाजवादीबाट कमल यादव, जसपाबाट विन्देश्वर यादव (बी) र लोसपाबाट ओमप्रकाश जैसवाल उम्मेदवार हुने सम्भावना रहेको छ ।

    २०७४ सालमा अर्घाखाँची–१ बाट तत्कालीन वाम गठबन्धनका उम्मेदवार माओवादी नेता टोपबहादुर रायमाझीले ५० हजार ८३७ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका डा. रामबहादुर बीसीले ३२ हजार ५४४ मत ल्याएका थिए । २ उम्मेदवारबीच १८ हजार २९३ मतान्तर रहेको थियो । 
    यो क्षेत्रमा हुने उपनिर्वाचनमा रायमाझीले फेरि उम्मेदवारी दिँदा एमालेबाट पूरै मत र आफ्नो भोट बैंकबाट केही मत पाए भने विजय नजिक पनि पुग्न सक्छन् तर एमाले फुटेका कारण एमालेको भोटमा कस्तो प्रभाव पर्छ र कांग्रेसले उठाउने उम्मेदवारको आधारमा रायमाझीको अवस्था थाहा हुनेछ । माओवादीलाई आफ्नो वर्चस्व देखाउनुपर्ने चुनौती रहेको छ ।

    अर्घाखाँचीमा १ मात्र निर्वाचन क्षेत्र छ । यहाँ कांग्रेसबाट बीसीका साथै पुष्पा भुसाल, मुक्ति श्रेष्ठ, ढुण्डीराज शास्त्री लगायतका नेता उम्मेदवारका आकांक्षी देखिन सक्छन् । पुष्पा अहिले कांग्रेसबाट समानुपातिक सांसद समेत रहेकी छन् तर उनले सांसदबाट राजीनामा दिएर प्रत्यक्षतर्फको उम्मेदवार बन्न खोजेको चर्चा रहेको छ ।

    यहाँबाट माओवादी केन्द्रका नेता लीलाराज आचार्य र एकीकृत समाजवादीबाट पीताम्बर भुसाल समेत उम्मेदवारका रुपमा चर्चामा छन् ।

    कैलाली–४ मा वाम गठबन्धनका तर्फबाट तत्कालीन माओवादी नेता लेखराज भट्टले ३१ हजार ३५९ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका सुनीलकुमार भण्डारीले २० हजार ९६० र स्वतन्त्र उम्मेदवार गीता क्षत्रीले ३ हजार १७३ मत ल्याएका थिए ।

    यहाँ कांग्रेसका उम्मेदवारको तुलनामा भट्टले १० हजार ३९९ मत बढी ल्याएका थिए । फेरिएको राजनीतिक शक्ति सन्तुलनका कारण यो क्षेत्रका नेता भट्टले अघिल्लो चुनावमा पाएको मत बाँडिने निश्चित छ । माओवादीबाट एमाले प्रवेश गरेका भट्टलाई कैलालीका एमालेका मतदाताले सहज रुपमा स्वीकार्छन् वा स्वीकार्दैनन् भन्ने प्रश्न पनि छ । अर्कोतर्फ पार्टी फुटेपछि सुदूरपश्चिममा एमालेको हालत खराब रहेको छ । भट्टलाई फेरि जीत सुनिश्चित गर्न यो क्षेत्रमा चुनौती देखिएको छ ।

    तर माओवादीले पनि कांग्रेसको साथ नपाउने हो भने पुरानो जीतलाई जोगाउन मुस्किल पर्ने देखिन्छ । एमाले उपाध्यक्ष भीम रावल सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी नपाएर आन्तरिक संघर्षमा रहेका छन् । यस्तो अवस्थामा सुदूरमा एमाले विभाजित अवस्थामै रहनेछ । गठबन्धनको मत त त्यसै पनि एमालेको भन्दा धेरै नै रहेको छ ।

    कैलाली–४ मा कांग्रेसबाट सुनील भण्डारी वा दीर्घराज भाटमध्ये एकले टिकट पाउने सम्भावना छ । भाटलाई लेखराज पराजित गर्न सक्ने उम्मेदवारको रुपमा हेर्ने गरिएको छ । एकीकृत समाजवादीले यो क्षेत्र पाएको अवस्थामा दीर्घबहादुर सोडारी उम्मेदवार बन्ने सम्भावना छ । यस क्षेत्रमा माओवादी उम्मेदवारबारे खासै चर्चा छैन ।

    कैलाली–३ बाट २०७४ सालको चुनावमा तत्कालीन एमाले र माओवादी केन्द्रको वामगठबन्धनका उम्मेदवार बनेका माओवादी नेता गौरीशंकर चौधरीले २४ हजार ८७९ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजनम चौधरीले २० हजार ४९४ मत पाएका थिए । राजपाले ४ हजार ४४ मत र नेकपा मालेले ३ हजार २५५ मत पाएको थियो ।

    यहाँ गौरीशंकर र रामजनम चौधरीको मतान्तर ४ हजार ३८५ रहेको थियो । तत्कालीन अवस्थामा बलियो रहेका एमाले र माओवादीको संयुक्त मतभन्दा ४ हजार मतले कांग्रेस पछाडि देखिएको थियो । यो क्षेत्रमा विना गठबन्धन उम्मेदवार उठ्ने हो भने कांग्रेसले जीत निकाल्ने स्पष्ट देखिन्छ तर माओवादीलाई यहाँ पनि पुरानो जीत जोगाउनुपर्ने चुनौती रहेको छ ।

    कैलाली–३ मा उपनिर्वाचनका लागि कांग्रेसबाट रामजनम चौधरी, माओवादी केन्द्रबाट वीरभान चौधरी र एकीकृत समाजवादीबाट अमर साउँद उम्मेदवार हुने चर्चा रहेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend