काठमाडौं - रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बारा २, चितवन २ र तनहुँ २ मा हुने उपनिर्वाचनमा कसैसँग सहकार्य नगर्ने निर्णय गरिसकेको छ ।
तर चितवन २ मा भने रास्वपा नौदलीय गठबन्धनको साझा उम्मेदवार आफ्नो पार्टीका सभापति लामिछानेलाई बनाउनुपर्ने लबिङमा रास्वपाका नेताहरू लागेका छन् ।
चितवन २ बाट जितेर गएका रास्वपाका सभापति लामिछानेको दोहोरो नागरिकताका कारण सांसद पद खारेज भएको थियो । मंसिर ४ गतेको निर्वाचनपछि बनेको सरकारमा ४२ दिन गृहमन्त्री बन्दा र त्यसपछि दोहोरो राहदानी प्रकरण सामसुम बनाउन रविले खेलेको खेलले उपनिर्वाचनमा उनी पहिले जस्तो बलियो देखिएका छैनन् ।
यसबीचमा नेपाली कांग्रेस पूरै शक्ति आर्जनमा लागेको छ । उसले चितवन २ मा यसअघि कारबाही गरेका विकास कोइराला र जगन्नाथ पौडेललगायत धेरैलाई कारबाही फिर्ताका लागि पार्टी केन्द्रमा पत्राचार गरिसकेको छ ।
अब कांग्रेसको अनुशासन समितिले उनीहरूलाई कारबाही फुकुवा गरेको निर्णय गर्न बाँकी छ । वैशाख १० गतेको निर्वाचनअघि नै कांग्रेसले सो निर्णय गर्ने बुझिएको छ । कांग्रेसले चितवनकै स्थानीय नेता जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी गरेको छ । श्रेष्ठ कांग्रेस चितवनका पूर्वसभापति र लोकप्रिय नेता पनि हुन् । सोही कारण अहिले रवि लामिछाने झस्किएका छन् ।
अहिले रवि लामिछाने सरकारमा सामेल हुनुपरेमा चितवन २ मा नौदलीय गठबन्धनको साझा उम्मेदवार आफू हुनुपर्नेमा लबिङमा लागेका छन् । बारा २, चितवन २ र तनहुँ २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचन प्रयोजनका लागि आगामी चैत २० गते उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ । तर अहिलेसम्म चितवन २ मा रवि लामिछाने मात्र उम्मेदवार बन्ने टुंगो लागेको छ ।
नेपाली कांग्रेस, एमाले, माओवादीले कुनै निर्णय गरिसकेका छैनन् । तनहुँ २ मा कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निश्चित जस्तै छ । बारा २ मा पनि उस्तै हालत छ ।
सिके राउत र लोसपाका नेता राजेन्द्र महतो हात धोएर लागेपछि उपेन्द्र यादव आत्तिएका छन् । आफ्नो सम्भावित पराजयको डरले अहिले उपेन्द्र पनि आफू नै नौ दलबाट साझा उम्मेदवार बन्नुपर्ने उनको लबिङ छ ।
तर कांग्रेस, माओवादीले यसबारे निर्णय गरिसकेका छैनन् । कांग्रेसले राधेचन्द्र यादवलाई उम्मेदवार उठाउन सक्ने बुझिएको छ । बारा २ मा त सिके राउत नेतृत्वको जनमत पार्टीले मात्र उम्मेदवार खोजेको छ ।
जहाँबाट जसपाका रामसहायप्रसाद यादव सांसदमा विजयी भएका थिए । अहिले उनी उपराष्ट्रपति छन् । बारा २ मा उम्मेदवार उठाउनकै लागि जनमतले माओवादीका शिवचन्द्र कुशवाहालाई भित्र्याएको छ ।
जसकारण संसद् छिर्ने दाउमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई ठूलो संकट आइलागेको छ । बारा २ मा कसलाई उठाउने भनेर कांग्रेस, एमाले, माओवादीले अझै निर्णय गरिसकेका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।