काठमाडौं - मन्त्रिपरिषद् विस्तारलाई अन्तिम रुप दिने तयारीस्वरुप गठबन्धन दलका नेताहरु छलफलमा जुटेका छन् ।
बुधबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ । बैठकले आजै मन्त्रिपरिषद्को टुंगो लगाउने र बेलुकासम्म नयाँ मन्त्रीको शपथ गराउने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेको बुझिएको छ ।
गठबन्धनको बैठक मंगलबार साँझ पनि बसेको थियो । हिजोको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरिएको थियो ।
साथै, प्रधानमन्त्री प्रचण्डले गठबन्धनको ठूलो दल कांग्रेसलाई आठ, माओवादीलाई पाँच, राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीन, एकीकृत समाजवादी र जसपालाई दुई–दुई मन्त्रालय दिइने प्रस्ताव गरेका थिए ।
यसबाहेक जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक–एक मन्त्री बनाउने उनको प्रस्ताव थियो । तर गठबन्धनका दलहरुले मन्त्रालयबारे आ–आफ्नो दाबी पेस गरेका थिए ।
कांग्रेसले नौ, एकीकृत समाजवादी र जसपाले चार–चार मन्त्रालय दाबी गरेका थिए । लोसपाले दुई मन्त्रालयमा दाबी गरेको छ । तर प्रचण्डले दलहरूका दाबी स्वाभाविक भए पनि सबैलाई मिलाउनुपर्ने र संवैधानिक व्यवस्थामा २५ सदस्यीयभन्दा ठूलो मन्त्रिपरिषद् बनाउन नपाइने भएकाले बाध्यता बुझिदिन आग्रह गरेका थिए । दलहरूले भने दाबी छाडिसकेका छैनन् ।
सोही कारण आज बिहान बैठक बोलाइएको हो । रवि लामछाने नेतृत्वको पार्टी रास्वपाले सरकारमा जाने निर्णय गरिसकेको छैन । तर, प्रचण्डले रास्वपालाई तीन मन्त्रालय छुट्याउन प्रस्ताव गरेपछि गठबन्धनका नेताहरु असन्तुष्ट बनेका थिए ।
जबकि सो बैठकमा रास्वपाका प्रतिनिधि उपस्थित थिएनन् । रास्वपाकै नेता सहभागी नभएकोमा प्रचण्डले किन त्यो पार्टीलाई मन्त्रालय छुट्याउन प्रस्ताव गरेका हुन् भन्नेमा अन्य दलका नेताहरु सशंकित बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।