काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध द्वन्द्वकालीन मुद्दा एकाएक सर्वोच्च अदालतमा हालेर पूर्वमाओवादी नेताहरूलाई जेलमा हाल्ने प्रपञ्चपछि अहिले राजनीति तरल बनेको छ ।
राष्ट्रपति निर्वाचनमा आफ्नो स्वार्थ पूरा नभएपछि एमाले र पूर्वप्रधानन्यायाधीशहरूको समूह माओवादीविरुद्ध मोर्चाबन्दीमा लागेका छन् । प्रचण्डविरुद्ध १५ दिनभित्र अदालतमा लिखित जवाफ पेस गर्न आदेश भएको छ ।
दश वर्षे सशस्त्र द्वन्द्वमा प्रचण्ड, मोहन वैद्य, बाबुराम भट्टराई, सीपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादल, दोपबहादुर रायमाझी, धर्मेन्द्र बास्तोलालगायत सहभागी थिए ।
यदि प्रचण्डमाथि कारबाही भएमा यी सबै नेता जेल पर्छन् । सोही अहिले छिन्नभिन्न भएका माओवादी घटकहरू एक ठाउँमा उभिएका छन् । माओवादी पृष्ठभूमिका शीर्ष नेताहरूले आइतबार दिउँसो संयुक्त पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गर्नेछन् ।
सशस्त्र द्वन्द्वकालीन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट टुंग्याउन थालेपछि उनीहरुले आपत्ति जनाउँदै आएका छन् । प्रधानमन्त्री प्रचण्डसहित माओवादी पृष्ठभूमिका शीर्ष नेताहरु, नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवालाहरु उपस्थित रहने माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताए ।
अदालतमा मुद्दा परेकै कारण सबै माओवादी नेताहरू एक ठाउँमा आउने वातावरण बनेपछि प्रचण्ड शक्तिशाली हुँदै गएका छन् । सोही कारण अहिले उनी एकीकृत समाजवादी, जसपालगायतका दलहरूलाई समेटेर समाजवादी मोर्चा बनाउने अभियानमा लागेका छन् ।
यदि समाजवादी मोर्चा बनेमा त्यसले नेपाली कांग्रेस र एमालेलाई दह्रो काउन्टर दिने निश्चित छ । सोही कारण अहिले प्रचण्ड पूर्वमाओवादी घटकलाई जम्मा गर्दै हिँडेपछि नेपाली कांग्रेसमा असन्तुष्टि देखिन थालेको छ ।
माओवादी धारका कारण प्रचण्डले शक्ति बाँडफाँडमा निहुँ खोज्ने कांग्रेस नेताहरूको भनाइ छ । कांग्रेस नेता एवं पूर्वमन्त्री डा.मिनेन्द्र रिजालले सार्वजनिक रूपमै प्रचण्डले माओवादी धारका नेताहरू बोक्न थाले कांग्रेस सरकारमा सामेल नहुने प्रतिक्रिया दिएका छन् ।
उनले शनिबार मिडियामार्फत आफ्नो धारणा गर्दै कांग्रेस प्रतिपक्षमा रहन सक्ने उल्लेख गरे । आज माओवादी धारका नेताहरूले गर्ने पत्रकार सम्मेलनपछि नै कांग्रेसले औपचारिक रूपमा आफ्नो धारणा सार्वजनिक गर्ने बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।