काठमाडौं- राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्न अब मात्र ६ दिन बाँकी छ । आगामी शनिबार उम्मेदवार मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको मिति तोकेको छ । सोही दिन नेपालले तेस्रो राष्ट्रपति पाउँदैछ । तर, नेपालको तेस्रो राष्ट्रपति को बन्ला भन्ने अहिलेसम्म कसैले भन्न सक्ने अवस्था छैन ।
दलीय व्यक्ति वा बाहिरबाट पनि राष्ट्रपति बन्न सक्ने चर्चा र स्याल हुइयाँ चलाइएको छ । तर जो बने पनि माओवादी केन्द्रकै साथ र समर्थनमा बन्ने निश्चित छ । आइतबार विराटनगर जाने क्रममा एमाले अध्यक्ष केपी ओलीले माओवादीले आफ्नो दलबाट उठ्ने राष्ट्रपतिको उम्मेदवारलाई भोट नहाल्ने कल्पनासम्म नगरेको अभिव्यक्ति दिए । यसले एक किसिमले एमालेकै राष्ट्रपति मुलुकले पाउने हो कि भन्ने पनि देखिएको छ ।
तर आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर राष्ट्रिय एकताको पक्षमा आफू रहेको भन्दै राष्ट्रपति पनि सोही आधारमा निर्वाचित हुनुपर्ने बताएका थिए । प्रचण्डको सोही भनाइलाई खण्डन हुने गरी ओलीले अभिव्यक्ति दिएको विश्लेषण गर्न थालिएको छ । कतिसम्म भने ओलीले माओवादीका सबैसँग सहमति गरेको हो र ? भन्दै प्रचण्डसँग सहमति भएको संकेत पनि गरेका छन् ।
अहिले एमालेमा कसलाई राष्ट्रपति बनाउने भन्ने छलफलसम्म चलेको छैन । किनभने एमालेमा यस विषयमा बहस र छलफल हुने कुरै भएन । ओलीले खल्तीबाट जसको नाम निकाल्यो त्यही उम्मेदवार बन्ने निश्चित छ । तर ओलीको खल्तीको राष्ट्रपतिको उम्मेदवारलाई माओवादीले भोट हाल्ला र भन्ने अर्को चासो पनि देखिएको छ । प्रचण्ड र ओलीबीच अहिलेसम्म २६ पटक भेटवार्ता भएको छ । जसमा ओलीले राष्ट्रपतिमा सघाउन आग्रह गर्दै आएका छन् । तर प्रचण्डले भने ओलीले प्रस्ताव गरेका नाममै असहमति जनाउँदै आएका छन् ।
पछिल्लोपटक भएको भेटवार्तामा ओलीले पार्टीका उपाध्यक्ष ईश्वर पोखरेललाई राष्ट्रपति बनाउन खोजेको सुनाएका थिए । तर प्रचण्डले ठाडै अस्वीकार गरेको बालुवाटार निकट स्रोतले बतायो । ओलीलाई प्रचण्डले आफैं राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । तर ओलीले अस्वीकार गरिदिएका थिए । ओली अझै १० वर्ष सक्रिय राजनीति गर्न चाहन्छन् । साढे दुई वर्षभित्र प्रधानमन्त्री पाउने सहमति गरेकाले पनि ओलीले अहिले नै राष्ट्रपति नबन्ने बताएका हुन् । तर, विवादास्पद चरित्रका ईश्वरलाई भने प्रचण्डले राष्ट्रपति नस्वीकार्ने स्पष्ट पारेका छन् । ईश्वर ओलीभन्दा पनि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी निकट नेता हुन् । यदि एमालेले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाएमा पार्टीमै पनि विरोध हुने निश्चित छ ।
सुवासचन्द्र नेम्वाङ, पृथ्वी सुब्बा गुरुङलगायतका नेताहरू कुनै पनि हालतमा ईश्वरलाई राष्ट्रपति बनाउन नहुने पक्षमा छन् । ओलीको एकल निर्णय चल्ने भएकाले उनीहरू खुलेर बोल्न सकिरहेका छैनन् । नेम्वाङ र गुरुङले भने सभामुखमा देवराज घिमिरेको नाम जसरी आएको थियो, राष्ट्रपतिमा पनि ईश्वरको नाम त्यसरी नै आउन सक्ने आफू निकट पत्रकारहरूलाई बताउन थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।