काठमाडौं- एमाले महासचिव शंकर पोखरेलले पुनः देश राजनीतिक अस्थिरतातर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले नेपालको अस्थिरताले भूराजनीतिक द्वन्द्वलाई मलजल गर्ने भन्दै स्थायी शान्तिका लागि बुझ्न ढिला नगर्न आग्रह गरेका छन् ।
पोखरेलले बुधबार बिहान सामाजिक सञ्जालमार्फत अस्थिरताको चिन्ता व्यक्त गरेका हुन् । उनको पार्टी एमाले अहिलेको सरकारको मुख्य हिस्सेदार हो । हालको गठबन्धनमा सबैभन्दा धेरै लाभ लिने पार्टी एमाले नै हो । तर त्यही पार्टीका महासचिव पोखरेल भने अस्थिरता भयो भन्दै सामाजिक सञ्जालमा चिन्ता गरेर बस्नुलाई धेरैले राम्रो मानेका छैनन् ।
‘राजनीतिक अस्थिरताले भूराजनीतिक द्वन्द्वलाई मलजल गर्ने हो । मुलुकको हितमा स्थायित्वको खोजी गरौं, स्थायित्वलाई प्रवद्र्धन गरौ । अस्थिरताले विकास र समृद्धिलाई मात्र होइन, स्वाधीनता र स्वाभिमानको यात्रामा समेत अवरोध पुर्याउँछ भन्ने कुरा वुझ्न ढिला भएन र ?’ पोखरेलले लेखेका छन् । उनले यो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति इंगित गर्दै लेखेको हुनसक्ने आकलन गरिएको छ ।
तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले दुई दुईपटक संसद् विघटन गर्दा पोखरेलले त्यसको विरोध गरेनन् । विघटन उचित होइन भनेर सल्लाह र सुझाव दिन सकेनन् । सोही कारण तत्कालीन नेकपा खारेज भयो, एमालेमा फुट आयो । तर पनि पोखरेलले ओलीको बचाउ गर्दै गए । अहिले एमालेकै सक्रियतामा बनेको सरकार हुँदाहुँदै पनि अस्थिरता बढेको भन्दै पोखरेलले भन्नुको कुनै तात्पर्य छैन । तर केही समययता अहिलेको गठबन्धन धेरै दिन नटिक्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डलाई दबाब दिन पनि उनले यो कुरा उठाएको धेरैको अनुमान छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।