काठमाडौं - पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलको बिहीबार एक महिना हुँदै छ । सरकार गठनको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार रावलसँग बिहीबार प्रदेश सभामा विश्वासको मत परीक्षण गर्ने वा राजीनामा दिने दुई विकल्प मात्रै बाँकी छन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ३ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
यस्तो मुख्यमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । मुख्यमन्त्रीले विश्वासको मत नपाए ठूलो दलको हैसियले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनेछन् ।
बिहीबार दिउँसोसम्म कुनै नाटकीय घटनाक्रम विकास भएन भने सुदूरपश्चिमका मुख्यमन्त्री रावल नेतृत्वको सरकार बच्ने सम्भावना कमजोर बनेको छ ।
आफ्नो पार्टीका नेता रेशम चौधरीको रिहाइ सुनिश्चित नभएको भन्दै नागरिक उन्मुक्ति पार्टीले यथास्थितिमै विश्वासको मत दिन नसकिने बताएपछि रावल नेतृत्वको गठबन्धन सरकार धरापमा छ । नागरिक उन्मुक्तिले विश्वासको मत दिने निश्चित नभएपछि बुधबार बोलाइएको प्रदेश सभा बैठक स्थगित गरिएको थियो ।
मुख्यमन्त्रीको आग्रहमा सभामुख भीमबहादुर भण्डारीले बुधबार दिउँसो १ बजे बोलाइएको बैठक बिहीबारसम्मका लागि स्थगित गरेका छन् । अर्को बैठक बिहीबार दिउँसो १ बजे आह्वान गरिएको छ । बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने प्रस्ताव पेस गर्नेछन् ।
वा, त्यसअगाडि राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नेछन् । विश्वासको मत नपाए पनि रावल स्वतः पदमुक्त हुनेछन् । मुख्यमन्त्री रावलले विश्वासको मत लिने प्रयोजनका लागि भन्दै बुधबार बैठक आह्वान गरिएको थियो । तर, औपचारिक कार्यसूची थिएन ।
दिउँसो १ बजे तोकिएको बैठक १२ बजे संसद् सचिवालयले सूचना टाँस गरेर विशेष कारणवश स्थगित भएको जनाएको थियो । यसअघि बुधबार ११ बजे बोलाइएको बैठक दलहरूको परामर्शमा सभामुखले १ बजे सारेका थिए । निर्णायक नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य बैठकमै उपस्थित नहुने भएपछि मुख्यमन्त्रीले विश्वासको मत नपाउने निश्चित थियो । मुख्यमन्त्रीले विश्वासको मत नपाउने देखिएपछि बैठक सारिएको हो ।
डिल्लीबजार कारागारमा रहेका पार्टीका संरक्षक रेशम चौधरीलाई भेट्न काठमाडौं पुगेका नागरिक उन्मुक्तिका सातैजना प्रदेश सभा सदस्य बुधबार बेलुकीसम्म धनगढी फर्किएका छैनन् ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र एमाले अध्यक्ष केपी ओलीबीच बुधबार मध्यरातिसम्म बालकोटमा वार्ता भएको थियो । तर, वार्ता निष्कर्षविहीन भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।