काठमाडौं - मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिम प्रदेश सभा बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।
रावलले आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने प्रयोजनसहित प्रस्ताव दर्ता गराएका थिए । तर, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने स्पष्ट पारेपछि सूचना टाँस गरी प्रदेश सभा बैठक स्थगित गरिएको छ । सुदूरपश्चिम प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेसले बिनासहमति प्रदेशसभा बैठक स्थगित भएपछि आपत्ति जनाएको छ ।
कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले कांग्रेससँग सहमति नै नगरी बिनाजानकारी सभामुखले बैठक सारेको भन्दै आपत्ति जनाए । मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने अवस्था देखिएपछि उनको निर्देशनमा सभामुखले बैठक स्थगित गरेको शाहको आरोप छ ।
‘बैठक सारिनुमा हाम्रो घोर आपत्ति छ,’ शाहले भने, ‘विश्वासको मत नपाइने अवस्था भएपछि यो सबै गरिएको हो ।’ बिहीबार १ बजेका लागि बोलाइएकाले उनीहरूकै प्रस्तुतिका आधारमा कांग्रेस अगाडि बढ्ने उनले बताएका छन् ।
सत्तागठबन्धनमा निर्णायक नागरिक उन्मुक्तिले विश्वासको मत दिनेबारे हालसम्म अनिर्णित बन्दा रावल नेतृत्वको सरकार संकटमा देखिएको छ । यदि रावलले विश्वासको मत नपाएमा सरकार ढल्ने र सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेसले सरकार बनाउने छ । कांग्रेससँग १९, एकीकृत समाजवादीसँग चार र एक स्वतन्त्र सांसद छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।