काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको मंगलबार एक महिना पुगेको छ ।
गत पुस १० गते संविधानको धारा ७६ (२) अनुसार उनी प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर, प्रधानमन्त्री बनेको एक महिना हुँदा पनि उनले सहज ढंगले सरकार सञ्चालन गर्न सकिरहेका छैनन् ।
प्रचण्डमा उत्साह नै देखिएको छैन । एमाले अध्यक्ष केपी ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनेकाले सरकारको साँचो बालकोटमा छ । त्यसैले पनि उनमा उत्साह नदेखिएको विश्लेषण गरिएको छ ।
केही दिनअघि प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने सबैलाई धन्यवाद दिन सर्वदलीय बैठक राखेका थिए । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेता थिए ।
सर्वदलीय बैठक बोलाएर राष्ट्रिय सहमतिको अवधारणा प्रस्तुत गरेका प्रचण्डलाई एमाले अध्यक्ष ओलीले दायाँबायाँ नगर्न चेतावनी दिए । राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीनवटै मुख्य पद लिएर विगतमा संसद् भंग गरेको सही थियो भन्ने प्रमाणित गराउन ओली चाहन्छन् ।
नयाँ संसदको बैठकमा संसद् विघटन प्रतिगमन नभएको भनेर ओलीले फेरि पनि विघटन हुने संकेत गरिसकेका छन् । संसद् विघटन गलत थियो भनेर सडकमा चर्का भाषणा गर्नु र कांग्रेससँग गठबन्धन गरेर सदन पाँच वर्ष टिकाउनु गलत थियो भन्ने प्रचण्डलाई स्वीकार्न बाध्य पार्ने ओली रणनीति रहेको छ ।
त्यही भएर शक्ति सन्तुलनको हिसाबले पनि एमालेलाई राष्ट्रपति दिनु प्रचण्डका लागि घुँडामा बञ्चरो हानेसरह हुने देखिएको छ । राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्र निर्णायक अवस्थामा छ । केपी ओली अहिले पनि संसद विघटन गरेर आफ्नै नेतृत्वमा मध्यावधि निर्वाचन गराउन चाहन्छन् ।
यसले एकातिर अघिल्लोपटक संसद् विघटन राजनीतिक रुपमा सही थियो भन्ने प्रमाणित हुने अर्कोतर्फ कांग्रेस र माओवादीबीच फाटो ल्याएर निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने षडयन्त्र बालकोटले गरिएको स्रोतको दाबी छ ।
त्यसका लागि राष्ट्रपति निर्वाचनसम्म प्रचण्डले भनेअनुसार नै गर्न ओली तयार देखिएका छन् । राष्ट्रपतिको निर्वाचनसँगै प्रचण्डको उपादेयता सकिने एमाले नेताहरु बताउँछन् । त्यसपछि सरकारमाथि ओली हाबी हुनेछन् ।
ओलीले भनेअनुसार नै चले पनि प्रचण्डको पद लामो समयसम्म नजाने देखिन्छ । त्यसका लागि एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लियो र राप्रपा, रास्वपाहरुलाई पनि फिर्ता गरायो भने अन्यथा लिन नहुने एमालेका एक नेताको तर्क छ ।
ओलीले आफ्नो मुठ्ठीको राष्ट्रपति बनाइसकेपछि प्रचण्डको सरकार ढाल्ने र संविधानको धारा ७६ (२) बमोजिमको सरकार गठनका निम्ति आह्वान गराउँदै केही दलको साथ लिएर प्रधानमन्त्री पदको दावी गर्ने छन् ।
त्यस्तो अवस्थाका ओलीले ३० दिनभित्र विश्वासको मत पाउने छैनन् । त्यसपछि उनले ६ महिनामा मध्यावधि निर्वाचन गर्ने नाममा फेरि संसद् विघटन गर्ने नेपाली कांग्रेसका नेताहरूले आशंका गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।