काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले चुपचाप विश्वासको मत दिएपछि नेपालको राजनीति एकाएक तरंगित बनेको थियो । कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतसमेत गुमाउँदै प्रचण्डलाई विश्वासको मत दिएदेखि पार्टी भित्र र बाहिर व्यापक आलोचना भइरहेको छ । कांग्रेसले किन यस्तो जोखिम मोलेको होला भन्ने धेरैलाई लागेको पनि हो ।
कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएदेखि एमाले अध्यक्ष केपी ओलीको निद हराम भइरहेको छ । त्यसमाथि शनिबार विभिन्न अनलाइनका सम्पादकहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले खुलस्त रूपमा आफू प्रधानमन्त्री बन्ने बेला राष्ट्रपति र सभामुख एमालेलाई दिने सहमति नभएको बताएपछि अबको एक महिना नेपालको राजनीति झन् तरंगित हुने अनुमान गरिएको छ ।
यो क्रम शनिबारदेखि सुरु भइसकेको छ । प्रचण्डले सभामुख निर्वाचनको सन्दर्भमा माघ ३ गते सर्वदलीय बैठक आह्वान गरेका छन् । सातदलीय गठबन्धनको बहुमत हुँदाहुँदै सभामुख निर्वाचनलाई लक्षित गर्दै प्रचण्डले सर्वदलीय बैठह आह्वान गरेपछि एमाले अध्यक्ष केपी ओली आक्रोशित भएको बताइन्छ । ओलीले विश्वासको मत दिने बेला कांग्रेस र प्रधानमन्त्रीबीच केही भित्री सहमति भएको लख काटेका थिए । प्रधानमन्त्रीको सर्वदलीय बैठक आह्वानले ओलीको त्यो आशंकालाई बल पुर्याएको छ ।
ओली दायाँ राजेन्द्र लिङ्देन र बायाँ रवि लामिछानेलाई राखेर प्रचण्डमाथि शासन गर्न चाहन्थे । आफूले जे भन्यो त्यही मान्ने बनाउन चाहन्थे । तर कांग्रेसले कसैले नसोचेको गेल खेलिदिएपछि अहिले ओली असमञ्जसमा परेका छन् । खुलेर प्रचण्डको विरोध गर्न सकेका छैनन् । यदि अहिलेको गठबन्धन भाँडिएमा पहिलेको पाँचदलीय गठबन्धन ब्यूँतिने भय ओलीमा देखिएको छ । त्यसैले अहिले ओली तत्काल केन्द्र सरकारलाई पूर्णता दिएर प्रचण्ड फकाउने रणनीतिमा लागेका छन् । त्यसैले अहिले ओली आफैं बालुवाटार पुग्ने र प्रचण्डसँग भेटवार्ता गर्ने गरिरहेका छन् ।
ओली सात वर्षअघिकै जस्तो यसपटक पनि राष्ट्रपति आफ्नो विश्वास पात्रलाई बनाउन चाहन्छन् । त्यसैले उनले सर्लक्क प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका हुन् । तर कांग्रेसले विश्वासको मत दिएर खेलिदिएपछि ओली भाउन्न बनेका छन् । किनभने कांग्रेस संसदमा पहिलो दल हो । ठूलो दलका नाताले कांग्रेसको खेललाई ओलीले सहज रुपमा लिएका छैनन् । त्यसैले उनी अहिले अक्क न बक्क भएका छन् । अबको दुई दिनपछि राजनीतिले अर्को मोड लिने धेरैले अनुमान गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।