काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो ज्वाइँ जीवन आचार्यलाई मन्त्री बनाएका छन् । यसअघि बुहारीलाई मन्त्री बनाएर आलोचित प्रचण्डले छोरी गंगा दाहालका श्रीमान् आचार्यलाई प्रदेश १ को मन्त्री बनाएका हुन् ।
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। कार्कीले माओवादी केन्द्रका दुई र एमालेका एक गरी थप तीनजना मन्त्री नियुक्त गरेका हुन्। माओवादीबाट मोरङ ६ (क) बाट निर्वाचित जीवन आचार्य र तेह्रथुम (ख) बाट निर्वाचित दुर्गाप्रसाद चापागाईं तथा एमालेबाट सोलुखुम्बु (ख)० बाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित बुद्धिकुमार राजभण्डारी मन्त्री भएका हुन्।
आचार्यलाई मन्त्री बनाइएपछि प्रदेश १ माओवादीमा विद्रोह हुने संकेत देखिएको छ । लामो समयदेखि पार्टीमा लागेर अवसर नपाएपछि माओवादीहरु निराश बनेका छन् । अहिले माओवादीका नेताहरुले प्रचण्डलाई भेट्न पनि ज्वाइँ आचार्यको सोर्सफोर्स लगाउनुपर्ने अवस्था आएको छ । प्रचण्डले छोरीलाई मेयर, ज्वाइँलाई मन्त्री, बुहारीलाई पार्टीको जिम्मा लगाएका छन् ।
मुख्यमन्त्री कार्कीले आजै प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्। ९३ सदस्यीय प्रदेश सभामा एमालेका ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको एकसहित मुख्यमन्त्री कार्कीलाई समर्थन गर्नेको संख्या ६० छ। प्रतिपक्षमा नेपाली कांग्रेसका २९ र एकीकृत समाजवादीका चार सांसद छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।