काठमाडौं– रौतहट–३ बाट निर्वाचित प्रभु साह र सर्लाही–४ बाट निर्वाचित अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएका छन्।
उनीहरुले पुस २४ गते सांसदद्वय साह र सिंहले संसद सचिवलायलाई आफूहरु प्रतिपक्षी बेञ्चमा बस्ने जानकारी गराएका छन् ।
नेकपा एमाले तत्कालीन स्थायी समिति सदस्यसमेत रहेका प्रभु साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट गोजीमा राखेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । यही क्षेत्रबाट उनको यो लगातार चौथो जित हो । २०६४ सालदेखि साहले यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका छन् ।
साह २०६३ मा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद्को सदस्य थिए । संविधानसभामा २०६४ र २०७० मा रौतहट ३ बाट निर्वाचित भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भए । तत्कालीन नेकपा विभाजित भएपछि एमालेतर्फ लागेका साहले मनोनयन दर्ताको दिन एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । हाल उनले आम जनता पार्टी खोलिसकेका छन् ।
अर्का स्वतन्त्र सांसद अमरेशकुमार सिंह बागी उठेर चुनाव जितेका सांसद हुन् । पार्टीले टिकट नदिएपछि सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्र चुनाव लडेका कांग्रेसका बागी उम्मेदवार सिंहले कांग्रेसकै उम्मेदवार नागेन्द्र कुमारलाई पराजित गरेका हुन् ।
यस्तै, स्वतन्त्र सांसद योगेन्द्र मण्डलले पनि प्रतिपक्षी बेञ्चमा बस्ने जानकारी गराएका छन् । मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनसहित एमाले र जसपाको गठबन्धनलाई फराकिलो मतान्तरले हराउँदै स्वतन्त्र उम्मेदवार मण्डल विजयी भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।