काठमाडौं– नेपाली कांग्रेसले मधेश, बाग्मती र सुदुरपश्चिम प्रदेशमा एमाले–माओवादी विनाको सरकार बनाउने प्रयास थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भइरहँदा कांग्रेसले जसपा अध्यक्ष उपेन्द्र यादवलाई भेटेर यस्तो संकेत गरेको हो।
कांग्रेस नेताहरुका अनुसार जसपाको साथ संघीय सरकारका लागि मात्रै होइन मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा एमाले–माओवादी इतरको सरकार बनाउन कांग्रेसले प्रयास गरिरहेको छ ।
मधेश प्रदेशको दोस्रो ठूलो दल कांग्रेससँग २२ प्रदेशसभा सदस्य छन् । जसपासँग १६ र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० सँग ९ प्रदेशसभा सदस्य छन् । १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ प्रदेशसभा सदस्यको साथ चाहिन्छ ।
जसपाले साथ दिएको अवस्थामा जनमत पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन जुटाएर सरकार बनाउन कांग्रेसले कसरत थालेको छ । बाग्मती प्रदेशमा भने राप्रपाको साथ लिएर सरकार बनाउने कांग्रेस नेताहरुको प्रयास छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरुलाई पुस २५ गते अपराह्न ४ बजेसम्म दिएका छन् ।
११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ प्रदेशसभा सदस्य चाहिन्छ । सबभन्दा ठूलो दल कांग्रेसका ३७ प्रदेशसभा सदस्य छन् भने एमाले (२७) र माओवादी केन्द्रका (२१) सँग ४८ प्रदेशसभा सदस्य छन् । १४ प्रदेशसभा सदस्य भएको राप्रपाले जसलाई साथ दिन्छ, उसकै सरकार बन्ने अवस्था छ ।
एमाले र माओवादीले केन्द्रमा प्रधानमन्त्रीले विश्वासको मत लिएपछि प्रदेशको शक्ति बाँडफाँटबारे छलफल गर्न चाहेका थिए । तर २५ गतेभित्र दाबी पेश गर्नुपर्ने भएपछि उनीहरु अफ्ठ्यारोमा परेका छन् । यही बेला कांग्रेस नेताहरुले राप्रपा नेताहरुलाई मुख्यमन्त्री दिन तयार रहेको सन्देश दिएका छन् ।
राप्रपाले एमाले–माओवादीसहितको गठबन्धनमा पनि बागमती प्रदेशमा आफूहरुलाई मुख्यमन्त्री दिनुपर्ने माग गरेको छ । प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले पहिलो पालोमा आफूहरुलाई सरकारको नेतृत्व दिन माग गरेको बताए ।
कांग्रेसले एमाले–माओवादी इतर सरकार बनाउने प्रयास गरिरहेको अर्को प्रदेश हो, सुदूरपश्चिम ।
५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । सबभन्दा ठूलो दल कांग्रेसँग १९ प्रदेशसभा सदस्य छन् भने एमाले १० र माओवादी केन्द्रसँग ११ सांसद् छन् । ७ प्रदेशसभा सदस्य भएको नागरिक उन्मुक्ति पार्टीले जसलाई समर्थन गर्छ, उसले सरकार बनाउने सम्भावना छ । यहाँ नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री दाबी गरिरहेको छ ।
मुख्यमन्त्री बनाउने गरी प्रदेश इन्चार्ज खगराज भट्टलाई प्रदेशसभामा पठाएको माओवादी केन्द्र प्रदेश सरकारको नेतृत्व छाड्ने पक्षमा छैन भने एमालेको पनि दाबी कायमै छ । त्यसलाई बुझेका कांग्रेस नेताहरुले नागरिक उन्मुक्तिका नेताहरुसँग मुख्यमन्त्रीबारे छलफल गर्न सकिने सन्देश दिएका छन् ।
कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले सरकार गठनका लागि प्रयास भइरहे पनि केही भनिहाल्ने अवस्था नभएको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।