काठमाडौं - स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस आजदेखि प्रतिपक्षमा पुगेपछि नेतृत्वको चर्को आलोचना भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र उनी निकट नेताहरूले बेलैमा सुझबुझ नअपनाउँदा आज कांग्रेसले ठूलो क्षति भोग्न परेको छ । राजनीतिमा सत्ता नै महत्वपूर्ण हो ।
चुनावमा तेस्रो पार्टीमा सीमित भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई किनारा लगाउँदै प्रधानमन्त्री पड्काए । पहिलो र दोस्रो ठूलो दललाई छक्याउँदै प्रधानमन्त्रीको पदमा पुग्नु प्रचण्डको ठूलो सफलता हो ।
यसलाई अब कसैले पनि नैतिकतासँग जोडेर हेर्नु आवश्यक पनि छैन । किनभने प्रचण्डको अस्थिर चरित्र र राजनीतिबारे कोही अनभिज्ञ थिएनन् । कांग्रेस त झन् यसको भुक्तभोगी नै थियो ।
चुनावको परिणाम अन्तिमतिर आइपुग्दा नै प्रचण्डले आफू प्रधानमन्त्री बन्न कसरत गरिसकेका थिए । उनले एमालेका नेताहरूसँग दिनहुँ भेटघाट गर्ने, एमालेका नेताहरूलाई खुमलटारमै खाना खुवाएर छलफल गर्ने गरेका थिए ।
तर कांग्रेसका नेताहरू भने सत्ताको कुर्सी नगुम्नेमा निश्चिन्त थिए । उनीहरूलाई बाहिर कतिसम्म चलखेल भइरहेको छ भन्ने भेउसमेत थिएन । सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ जसरी पनि एमाले र माओवादी मिल्नैपर्छ भनेर लागिरहेका थिए ।
अध्यक्ष केपी ओलीलाई उनीहरूले कन्भिन्स गरिसकेका थिए । सोही कारण आइतबार बालकोटमा दुई घन्टा बसेको बैठकले कांग्रेसलाई एकै झड्कामा सडकमा लगिदिएको छ । दोस्रो दलमा खुम्चे पनि एमालेले राजनीति जितेको छ ।
आज उसको हातमा रास्ट्रपति, सभामुख, साढे दुई वर्षपछि प्रधानमन्त्री, मुख्यमन्त्रीहरू, प्रदेश प्रमुखहरू, सभामुख, उपसभामुखहरू, राजदूत, राजनीतिक नियुक्ति सबै पर्ने अवस्था आएको छ ।
तर कांग्रेस ठूलो दल बनेर पनि सडकमा पुगेको छ । त्यसैले अहिलेको नेतृत्वलाई यसको जिम्मेवार बनाउन देशभरबाट विशेष महाधिवेशनको माग भएको छ । एक वर्षअगाडि मात्र कांग्रेसको १४औं महाधिवेशन भएको थियो ।
जसअनुसार अझै सभापति शेरबहादुर देउवाले तीन वर्ष र एक वर्ष थप्दा चार वर्ष बिताउन बाँकी नै छ । तर त्यसभन्दा अघि नै उनलाई सभापतिबाट हटाउन र नेतृत्वमा युवा पुस्ताका नेतालाई दिन माग उठेको हो ।
चन्द्र भण्डारी, गुरुराज घिमिरे, शेखर कोइराला, मिनेन्द्र रिजाललगायतका नेताहरू अहिलेको नेतृत्वबाट कांग्रेस नचल्ने निष्कर्षमा पुगेका छन् । त्यसैले विशेष महाधिवेशनको आवाज उठेको हो ।
यसपटक रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, प्रकाशशरण महत राजनीतिमा फिक्का देखिए ।
उनीहरू कसरी आफूनिकट नेतालाई अवसर दिलाउन सकिन्छ भनेर मात्र बालुवाटारमा केन्द्रित भए । त्यही भएर अहिलेको अवस्था आएको हो । त्यसैले कांग्रेसको नेतृत्व जतिसक्लो छिटो परिवर्तनको माग भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।