काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएसँगै अब पार्टीमा गोरखा हाबी देखिएको छ ।
विगतमा माओवादीमा रोल्पा र रुकुम प्राथमिकतामा पथ्र्यो । सो पार्टीबाट जितेका रोल्पाका सांसद मन्त्री वा पार्टीको जिम्मेवार पदमा हुन्थे । तर, यसपटकदेखि रोल्पा र रुकुम किनारामा पार्ने खेल सुरु भएको छ । रोल्पा र रुकुम माओवादीको उदगमस्थल हो ।
त्यहीँबाट सशस्त्र द्वन्द्वको सुरुवात भएको थियो । प्रचण्ड आफैं पनि रोल्पाबाट विजयी भएका थिए । तर, अहिले रोल्पाको शक्ति गोरखातिर सरेको संकेत देखिएको छ । हालै सम्पन्न निर्वाचनपछि माओवादी संसदीय दलको नेता प्रचण्ड निर्विरोध भए । उनी गोरखाबाटै विजयी भएका हुन् ।
राष्ट्रिय सभाको दलको नेता चयन भएका नारायणकाजी श्रेष्ठ गोरखाकै हुन् । उनी तत्कालीन नेकपाबाट गण्डकी प्रदेशको राष्ट्रिय सभा सदस्यमा विजयी भएका थिए । माओवादीले बिहीबार संसदीय दलको प्रमुख सचेतक हितराज पाण्डेलाई बनाएको छ । उनी समानुपातिक सूचीको पहिलो नम्बरमा थिए । उनी पनि गोरखाकै हुन् ।
प्रचण्डले एकाएक गोरखालाई प्राथमिकता दिन थालेपछि वर्षमान पुन, जनार्दन शर्मालगायत असन्तुष्ट बनेका छन् । संसदीय दलको नेता चयन भएपछि प्रचण्डसँग पुन र शर्माले दलको उपनेता चयन गर्न प्रस्ताव गरेका थिए ।
तर, प्रचण्डले यो विषय तत्काल आवश्यक नभएको भन्दै विषयान्तर गरेका थिए । प्रचण्डको यो व्यवहारले माओवादीमा ठूलै द्वन्द्व निम्तिने खतरा देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।