काठमाडौं - निर्वाचनपछि पहिलोपटक १९ मंसिरमा बसेको सत्तागठबन्धनको बैठकले गठबन्धन निरन्तर रहने निर्णय गरेको थियो ।
नयाँ सरकार पनि अहिले गठबन्धनमै रहेका दलबाट बन्ने बताइएको थियो । तर कुन दलले नेतृत्व गर्ने भन्ने छलफल नै सुरु भएको छैन । कांग्रेस सबैभन्दा ठूलो दलको हैसियतमा पहिलोपटक सरकार बनाउने प्रयत्नमा लागेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि पनि प्रधानमन्त्री बन्ने तयारी गरेका छन् ।
तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमै आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबी पेस गरेपछि गठबन्धनमा समस्या उत्पन्न भएको छ । माओवादी अहिले तेस्रो शक्ति हो ।
निर्वाचनले मिलिजुली सरकार बनाउने म्यान्डेट दिएको छ । तर, सरकार बनाउने चाबी माओवादीकै हातमा छ । त्यही भएर प्रचण्डले बार्गेनिङ गर्ने टुल पाएका हुन् ।
कतिसम्म भने उनले एमालेसँग पनि समानान्तर ढंगले छलफल अघि बढाएका छन् । यदि एमालेले प्रधानमन्त्री स्वीकारे कांग्रेसको गठबन्धनलाई लात हान्ने उनको रणनीति छ । त्यही भएर शनिबारदेखि उनले आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न उनले प्रस्ताव नै गरेका हुन् ।
प्रचण्ड कुनै पनि हालतमा पहिलो चरणमै प्रधानमन्त्री बन्न चाहन्छन् । यसको मुख्य कारण रास्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्यमन्त्रीको निर्वाचन महत्वपूर्ण छ । कांग्रेससँग ८९ सिट मात्र हो । प्रदेशमा पहिलो दल भए पनि एमाले पनि पछि पछि छ ।
एमाले र माओवादी मिलेमा रास्ट्रपति र उपराष्ट्रपति कांग्रेसको हातबाट फुत्किन सक्छ । किनभने प्रतिनिधिसभा सदस्य, रास्ट्रीय सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख एमाले र माओवादीको जोड्दा कांग्रेसभन्दा धेरै हुन्छ । त्यही भएर कांग्रेस अहिले रास्ट्रपति आफ्नो हातबाट गुमाउन चाहँदैन ।
अबको रास्ट्रपति पाँच वर्षसम्म स्थायी हुन्छ । रास्ट्रपति एमालेको विद्यादेवी भण्डारी बन्दा कतिसम्म अप्ठेरो पारियो भन्ने कांग्रेस नेताहरूले बिर्सेका छैनन् । त्यही भएर गठबन्धन जोगाउँदा धेरै राजकीय पद आफ्नो पोल्टामा पार्ने कांग्रेसको रणनीति छ ।
यसकारण पहिलो चरणमा कांग्रेसको हातबाट प्रधानमन्त्री पद खुस्किन पनि सक्ने देखिएको छ । त्यही भएर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गम्भीर खुलासा गरेका छन् ।
कुनै पनि दलले बहुमत नल्याएको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने चिन्ता र चासो व्यक्त भइरहेका बेला शर्माले शनिबार अबको प्रधानमन्त्री दुई वर्षका लागि मात्र बन्ने भनेर सार्वजनिक रूपमै बताइदिए ।
नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीमा दाबी गरिरहेका बेला शर्माले जो प्रधानमन्त्री बने पनि गठबन्धन टुट्न नहुने बताए । ‘प्रधानमन्त्री जो बन्नुहोला, दुई वर्षका लागि बन्नुहोला, लुकाइछिपाइ केही छैन ।
हामी एक्लैले विजय हासिल गरेका होइनौँ । हामीसँगै माओवादी उत्तिकै साथमा उभिएको शक्ति हो,’ उनले शनिबार झापामा आयोजित सार्वजनिक कार्यक्रममा भने, ‘एकीकृत समाजवादी पनि उत्तिकै बलका साथ उभिएको शक्ति हो । आकारले अलिकति सानो–ठूलो भयौँ होला ।
तर, हामी एक्लै त कोहि पनि विजयी भएका होइनौँ । जनताको मतले गठबन्धन जसरी आएको छ, यसलाई एउटा सरकार बन्ने–बनाउने भन्ने नाममा बिथोलिन दिनुहुँदैन, भत्किन दिनुहुँदैन । गठबन्धनलाई जनताले जे–जुन रूपमा आकार दिनुभएको छ, त्यही रूपमा सफल बनाएर जानु छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।