काठमाडौं– राजनीतिक दलहरूले समावेशी क्लस्टर र बन्दसूचीको क्रमअनुसार सच्याएर पठाएको समावेशी सांसद नामावलीको निर्वाचन आयोगले सोमबार छानबिन गरेको छ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा० र नागरिक उन्मुक्ति पार्टीलाई समावेशी सांसदहरूको नामावली सच्याएर पठाउन आयोगले आइतबार पत्राचार गरेपछि ती दलहरूले सोमबार नामावली सच्याएर बुझाएको हो।
आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले समानुपातिक सांसदहरूको सूची सकेसम्म सोमबार सार्वजनिक गर्ने तयारी गरे पनि समय अपुग भएकोले मंगलबार सूची सार्वजनिक गर्न लागिएको बताए।
दलहरूले यसअघि बुझाएको समानुपातिक उम्मेदवारहरूको बन्दसूची भित्रैबाट नामावलीमा नाम परेको छ कि छैन, नाम त्रुटि छ कि छैन, समावेशीको क्लस्टर र महिला, अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व भए÷नभएको छानबिन गरी नामावली सार्वजनिक गर्ने प्रवक्ता वाग्लेले बताए।
प्रतिनिधि सभातर्फ समानुपातिकमा नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सांसदको नाम पठाएका थिए। राष्ट्रिय मान्यता पाउने यी दलसहित अन्य विभिन्न दल गरी १४ वटा दलले प्रदेशसभाको लागि समानुपातिकतर्फ २ सय २० जनाको नामावली पठाएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।