काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेताका लागि उम्मेदवारी दिने तयारी थालेपछि बुढा नेताहरूको सात्तो गएको छ।
बुढा नेताहरू कतिसम्म झस्केका रहेछन् भन्ने कुरा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले नै देखाउँछन् । चुनावअघिसम्म गठबन्धनको बैठकमा बोलाउने गरेकोमा सोमबार कांग्रेस महामन्त्री गगन थापालाई बैठकमा सहभागी गराएन ।
निर्वाचनअघि गठबन्धनको सिट बाँडफाँड कार्यदलमा महामन्त्री थापासमेत सहभागी थिए । तर, सोमबारको गठबन्धनको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।
महामन्त्री थापाले बैठकबारे कुनै जानकारी नगराइएको बताएका छन् । थापाले संसदीय दलको नेता बन्ने तयारी थालेपछि सभापति शेरबहादुर देउवा तनावमा परेका छन् ।
‘चुनावअघि सिट बाँडफाँडमा भूमिका खेले पनि उहाँलाई यो बैठकबारे कुनै जानकारी गराइएन । निर्वाचनलगत्तै सभापतिज्यूले आफूनिकटकालाई सहभागी गराउने, आफूविरुद्ध उभिनेलाई निषेधको मनसाय राखेर नबोलाइएको देखियो,’ स्रोतले भन्यो ।
तर, बुढा नेताहरूले रोक्न खोज्दैमा गगनको बेग रोकिने छाँटकाँट छैन । उनले निर्वाचित सांसदहरूसँग छलफल सुरु गरिसकेका छन् । सोमबार पनि उनले कांग्रेस नेता डा.शेखर कोइरालासँग कुराकानी गरेका थिए । दुवैबीच कसरी अघि बढ्ने भन्नेमा एक चरणमा कुराकानी भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।